धर्म –सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

अमेरिकी ‘स्टेट डिपार्टमेन्ट’ को अभिलेख तथा हेगस्थित अन्तरसरकारी निकाय ‘एचसीसीएच’ मा फ्रान्स, नर्वे, इटली, बेल्जियम लगायतका मुलुकले दिएको जानकारीले नेपालबाट धर्म–सन्तानका नाममा ठूलो संख्यामा बालबालिका तस्करी गरेर ती मुलुक पु¥याइएको रहस्योद्घाटन भएको छ ।

आकाश क्षेत्री: खोज पत्रकारिता केन्द्र

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार, सन् २०१० देखि सन् २०१९ को जुलाईसम्म ९ वर्षमा अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ । सरकारी अभिलेख अनुसार, अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनमा नेपालबाट ६४ बालबालिका धर्म–सन्तानका रूपमा लगिएका छन् ।

तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र माथिका ९ मुलुकले नेदरल्याण्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेशनल ल’ (एचसीसीएच) लाई यो ९ वर्षमा आफ्नो मुलुकमा कुन देशबाट कति संख्यामा धर्म–सन्तान ल्याइएको छ भनेर बुझाएको सूची हामीले फेला पारेका छौं । त्यसमा नेपाल सरकारको अभिलेखमा रहेभन्दा धेरै ठूलो संख्या बालबालिका ती मुलुकहरूमा पु¥याइएको रहस्योद्घाटन भएको छ ।

स्टेट डिपार्टमेन्टको अभिलेख तथा एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणमा पछिल्लो ९ वर्षमा २४२ नेपाली बालबालिका धर्म–सन्तानका रूपमा ती मुलुकहरूमा लगिएको देखिन्छ । जबकि नेपालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विवरणमा यो अवधिमा नेपालबाट ६४ बालबालिका मात्रै ती मुलुकमा पठाइएको देखिन्छ । यति ठूलो संख्यामा बालबालिका कसरी यी मुलुकमा पुगे थप अनुसन्धानको विषय भएको छ ।

जबकि नेपालबाट बालबालिका सजिलै धर्म–सन्तानका रूपमा लैजान सकिन्न । नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने शर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म–सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ । त्यसैगरी धर्म–सन्तान ग्रहण गर्न चाहने विदेशी नागरिकले सूचीकृत विदेशी संस्था र एजेन्सी वा नेपालस्थित आफ्नो देशको दूतावासमा निवेदन दिनुपर्ने हुन्छ । सो नभए नेपालको निम्ति तोकिएको दूतावास मार्फत धर्म–सन्तान ग्रहण गर्न चाहने बालबालिकाको उमेर, लिङ्ग र अन्य विवरण खुलाई तोकेबमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

निवेदकले पेश गरेको विवरण अनुसार बालबालिका छनोट गर्ने जिम्मा सहसचिव नेतृत्वको ‘परिवार छनोट समिति’ को हुने व्यवस्था शर्त र प्रक्रियाको दफा १४ मा उल्लेख छ । शर्त र प्रक्रियाको दफा १४ (३) अनुसार प्राप्त निवेदकको विवरणका आधारमा पहिला निवेदन दिने र परिवार छनोट समितिमा पहिला दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकतामा राखेर बालबालिका छनोट गर्नुपर्ने व्यवस्था छ । जबकि एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणले ठूलो संख्यामा यो प्रक्रिया छलेर बालबालिका विदेश पुगेको देखिन्छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार, नेपाल सरकारले हाल १८ देशमा नेपाली बालबालिकालाई धर्मपुत्र–धर्मपुत्रीका रूपमा लैजान अनुमति दिने गरेको छ । तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र एचसीसीएचमा ९ देशको मात्रै विवरण फेला पारेपछि हाम्रो तुलनात्मक अध्ययन १० देशमा सीमित छ ।

नमिल्दो विवरण 

नेपाल सरकारको विवरण भन्दा धेरै बालबालिका अमेरिका पुगेको देखाउने अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख ।

अब नेपाल सरकारले धर्म–सन्तान लैजान दिएको विवरण र सम्बन्धित देशले एचसीसीएचमा आफ्नो देशमा नेपालबाट ल्याइएका धर्म–सन्तानका बारेमा दिएको विवरण तुलना गरौं ।

डेनमार्कले एचसीसीएचलाई बुझाएको सूची अनुसार यो अवधिमा नेपालबाट धर्म–सन्तानका रूपमा २० बालबालिका त्यहाँ लगिएको देखिन्छ । जबकि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार, नेपालबाट पछिल्लो ९ वर्षमा दुई बालबालिका मात्रै डेनमार्क लैजान अनुमति दिइएको छ । १८ बालबालिका कसरी डेनमार्क पुगे चासोको विषय भएको छ ।

फ्रान्सको उदाहरण पनि त्यस्तै छ । फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका धर्म–सन्तानका रूपमा आफ्नो मुलुकमा रहेको सूची एचसीसीएचलाई बुझाएको छ । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार, यो अवधिमा नेपालबाट एक बालिका मात्रै त्यहाँ लगेको देखिन्छ । २० बालबालिका कसरी फ्रान्स पुगे कसैले भन्न सक्दैन । 

धर्म–सन्तानका रूपमा अमेरिकामा भएका नेपाली बालबालिकाको विवरण अझ झस्काउने खालको छ । पछिल्लो ९ वर्षमा १०२ नेपाली बालबालिका धर्म–सन्तानका रूपमा आफ्नो मुलुकमा भएको विवरण अमेरिकाको स्टेट डिपार्टमेन्टको अभिलेखमा देखिन्छ । तर, यो अवधिमा नेपालबाट जम्मा ११ बालबालिका मात्रै धर्मपुत्र–धर्मपुत्रीका रूपमा अमेरिका गएको सूची मन्त्रालयसँग छ । ९१ बालबालिका कसरी अमेरिका पुगे थप अनुसन्धानको विषय भएको छ ।

अमेरिकाको विदेश मामिला हेर्ने ‘स्टेट डिपार्टमेन्ट’ को ‘ब्यूरो अफ कन्सुलर अफेयर्स’ का अनुसार, अमेरिकी संघीय कानून अनुसार, धर्मपुत्र–धर्मपुत्री राख्न अमेरिकी नागरिक हुनुपर्ने, अविवाहित भए कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने, विवाहित भए पति/पत्नी दुवैको सहमति चाहिने, आपराधिक पृष्ठभूमिको हुनु नहुने र अरू देशबाट धर्मपुत्र–धर्मपुत्री ग्रहण गर्दा ‘सम्बन्धित देशको मापदण्ड पूरा गरेको हुनुपर्ने’ व्यवस्था छ । तर सरकारी अभिलेख अनुसार स्वीकृति विनै यी ९१ बालबालिका अमेरिका लगेको देखिंदा यसमा नेपालले निर्धारण गरेको कानूनी प्रक्रिया पूरा नगरेको स्पष्ट हुन्छ ।  

एचसीसीएचलाई नर्वेले दिएको जानकारी अनुसार सन् २०१० यता धर्म–सन्तानका रूपमा १० बालबालिका नर्वे पुगेका छन् । तर नेपाल सरकारको अभिलेख अनुसार, नेपालबाट कानूनी प्रक्रिया पूरा गरेर सो अवधिमा तीन बालबालिका मात्रै त्यहाँ लगिएको छ ।

त्यस्तै क्यानडाले नेपालबाट पाँच बालबालिका धर्म–सन्तानको रूपमा आफ्नो मुलुकमा आएको सूची एचसीसीएचलाई बुझाएको छ । तर, मन्त्रालयसँग रहेको सूचीमा त्यो अवधिमा दुई बालबालिका मात्रै क्यानडा लगिएको छ ।

स्विट्जरल्यान्डले नेपालबाट तीन बालबालिका आफ्नो मुलुकमा आएको सूची एचसीसीएचलाई बुझाएको छ । तर, नेपालबाट एक जना मात्रै बालिका लगिएको विवरणबाट देखिन्छ ।

यसैगरी बेल्जियमले १२ नेपाली बालबालिका धर्म–सन्तान बनाएर लगेको विवरण एचसीसीएचलाई बुझाएको छ । जबकि नेपालको विवरणमा जम्मा चार बालबालिका मात्रै त्यहाँ गएका छन् ।

इटालीले एचसीसीएचलाई दिएको विवरण अनुसार सन २०१० मा मात्रै ५९ बालबालिका धर्म–सन्तानका रूपमा इटाली पुगेको देखिन्छ । नेपाल सरकारको विवरणमा भने ३५ बालबालिका मात्रै धर्म–सन्तानका रूपमा इटाली गएको देखिन्छ । सन् २०१० पछिको विवरण प्राप्त हुन सकेन ।

स्विडेनले पनि ८ नेपाली बालबालिका आफ्नो देशमा रहेको विवरण एचसीसीएचलाई दिएको छ, जबकि नेपाल सरकारको विवरणमा एक जना मात्रै स्विडेन गएको देखिन्छ ।

जर्मनीले एचसीसीएचलाई बुझाएको विवरणमा भने नेपालको अभिलेख भन्दा कम देखिएको छ । सन् २०११ मा जर्मनीमा दुई जना धर्म–सन्तान लगिएको एचसीसीएचको विवरणबाट देखिन्छ । तर, नेपालबाट चार बालिका धर्म–सन्तानका रूपमा त्यहाँ पुगेको मन्त्रालयको विवरणले देखाउँछ ।

नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अभिलेखमा एउटा र सम्बन्धित मुलुकले एचसीसीएचमा बुझाएको विवरणमा अर्कै अंक उल्लेख भएका कागजातहरु ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने, “मन्त्रालयको विवरणमा देखिएको तथ्यांक नै नेपालको आधिकारिक तथ्यांक हो । विदेशी विवरणमा कसरी बढी देखियो मन्त्रालयलाई जानकारी छैन ।” 

धर्म–सन्तानका रूपमा नेपाली बालबालिका विदेशमा बिक्री भइरहेको सम्बन्धमा अध्ययन गरेकी राष्ट्रिय मानवअधिकार आयोगकी उपनिर्देशक मञ्जु खतिवडा बालबालिका तस्करी भएर विदेश पुगेका कारण तथ्यांक फरक देखिएको बताउँछिन् । उपनिर्देशक खतिवडा भन्छिन्, “तस्करहरूले फर्जी कागजात बनाएर, सरकारी कर्मचारी र अभिभावकलाई समेत विभिन्न प्रलोभनमा पारेर नेपाली बालबालिका विदेश पु¥याइरहेका छन् ।”

संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि अनुकूल हुने गरी नेपालले पनि मुलुकी देवानी संहिता ऐन २०७४ को पारिवारिक कानून अन्तर्गतको परिच्छेद ८ मा धर्म–सन्तान सम्बन्धी र परिच्छेद ९ मा अन्तरदेशीय धर्म–सन्तान सम्बन्धी व्यवस्था छ ।

यसका साथै बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९, आवासीय बालगृहको संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६९, नेपाली बालबालिका विदेशी नागरिकलाई धर्म–सन्तान ग्रहण गर्न दिने सम्बन्धी शर्त तथा प्रक्रिया २०६५ र अन्तरदेशीय धर्म–सन्तान व्यवस्थापन विकास समिति गठन आदेश २०६७ मा बालबालिकालाई धर्म–सन्तानका रूपमा दिने लिने सम्बन्धी व्यवस्थाहरू छन् । यी सबै व्यवस्थाको सार भनेको सरकारले तोकेको मापदण्ड र प्रक्रिया पूरा गरेर मात्रै कसैलाई पनि धर्म–सन्तानका रूपमा विदेशमा लैजान पाइन्छ ।

आवासीय बालगृहको संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ अनुसार, आमाबुवा नभएका वा भएर पनि हेरचाह गर्न शारीरिक वा मानसिक अवस्थामा नरहेका बालबालिकाको हेरचाह सकेसम्म उनीहरूकै नातेदारले गर्नुपर्ने र नसके राज्यले सघाउनुपर्ने व्यवस्था छ । अनाथ बालबालिकाको हकमा पनि सकेसम्म नातेदार परिवारमा राख्ने र त्यो सम्भव नभए नातेदार नपर्ने परिवारमा उनीहरूलाई राख्ने, त्यो पनि सम्भव नभए देशभित्रै धर्म–सन्तान दिने र त्यसको विकल्पमा मात्रै विदेशमा धर्म–सन्तानको रूपमा पठाउन पाउने व्यवस्था छ ।

यी व्यवस्थाहरूको सार भनेको सरकारको जानकारी बेगर कुनै पनि बालबालिका धर्म–सन्तानको रूपमा विदेश जान सम्भव नै छैन । तर, विभिन्न देशले एचसीसीएचमा बुझाएको विवरण र नेपाल सरकारको अभिलेखले सरकारको जानकारी विना ठूलो संख्यामा नेपाली बालबालिकाहरू धर्म–सन्तानका रूपमा विदेश पुगेका छन् भन्ने देखिन्छ । बालबालिकालाई धर्म–सन्तानका नाममा कसरीसम्म विदेश लगिन्छ भन्ने यी तीन दृष्टान्तबाट थाहा पाइन्छ । 

नरेश बने चानोराङ किम

मजदूरी गरेर जीवन निर्वाह गर्ने घर्ती दम्पतीका कान्छा सन्तान थिए, दुई वर्षका नरेश । पुख्र्यौली घर रुकुमपूर्व भए पनि यो परिवार पोखरामा मजदूरी गथ्र्यो । दुई जनाको मजदूरीबाट भएको आर्थिक उपार्जनले पाँच जनाको परिवार चल्थ्यो । तीन सन्तान हुर्काउन घर्ती दम्पतीलाई हम्मेहम्मे थियो ।

२०७५ तिरको कुरा हो । आर्थिक संकटमा गुज्रिरहेको यो परिवारको सम्पर्कमा आइन्, नारा किम (राहदानी नम्बर एम २९८१९८३५) । दक्षिण कोरियाली यी महिला पर्यटक भिसामा नेपाल आएकी थिइन् । पटकपटक नेपाल आइसकेकी किमले पोखरा घुम्ने क्रममा घर्ती परिवारलाई भेट्टाएकी थिइन् ।

किम र घर्ती परिवारबीच निकटता झन् बढ्यो । उनी फेरि अर्कोपटक नेपाल आइन् । उनले यो परिवारलाई आर्थिक सहयोग पनि गरिन् । उनले घर्ती दम्पतीको कान्छो सन्तान नरेशलाई आफ्नो देश लैजान चाहिन् । घर्ती दम्पतीले पनि सानो छोरा नरेशलाई किमसँग पठाउन मन गरे ।

त्यसपछि शुरू भयो नेपालको कानून छल्ने अनेक तिकडम । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, नरेशलाई आफैंले जन्माएको प्रमाणित गर्ने कागजपत्र बनाउनतिर लागिन् किम । पोखरा महानगरपालिकाबाट किम र नरेश आमा छोरा भएको नाता प्रमाणित गर्ने सिफारिश निकालियो, नरेशलाई कोरियाली महिलाले नै जन्माएको भनेर पोखराको हरिचोकस्थित एउटा अस्पतालबाट ‘जन्म प्रमाणपत्र’ बनाएर किम काठमाडौं आइन् ।

रविभवनस्थित दक्षिण कोरियाली दूतावास पुगिन् । पोखराबाट बनाएर ल्याएका सबै कागजपत्र पेश गरिन् । कागजात हेरेर कोरियाली दूतावासले नरेशलाई किमले नै जन्माएको राहदानी उपलब्ध गरायो । राहदानीमा नरेशको नाम थियो– चानोराङ किम र राहदानी नम्बर एम ७२५०४५६८ ।

नरेशको कोरिया यात्राका लागि चाहिने लगभग सबै काम सकियो । अन्तिम काम सल्टाउन किम कालिकास्थानस्थित अध्यागमन विभाग पुगिन्, नरेशको भिसा लगाउन । अध्यागमनले नरेश किमकै सन्तान हुन् भनेर पत्याएन । छानबिन शुरू भयो । छानबिन टोली पोखरासम्मै पुग्यो ।

पोखरा पुगेपछि खुल्यो कि– नरेश किमका सन्तान थिएनन् । छानबिन टोलीले किमको नेपाल प्रवेश मिति र बच्चा जन्माएको मितिका बीचमा मेल नखाने थुप्रै विवरण फेला पा¥यो । १८ वैशाख २०७६ मा किम पक्राउ परिन् ।

प्रहरी अनुसन्धानबाट घर्ती दम्पतीलाई ललाईफकाई उनीहरूको कान्छो सन्तान विदेश लैजान खोजेको रहस्य खुल्यो । अदालतमा मुद्दा प¥यो । २३ जेठ २०७६ मा किमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

संरक्षकको आवरणमा तस्करी

नेपालमा संचालनमा रहेका बालगृहहरू र धर्म–सन्तान लिने विदेशी नागरिक बीच स्वार्थपूर्ण संलग्नता देखिएको राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०७६ मा उल्लेख छ । प्रतिवेदन अनुसार, नेपालमा संचालित ५३३ बालगृहमा १४ हजार ८६४ बालबालिका छन् र तीमध्ये ८० प्रतिशत बालबालिकाका एक वा दुवै अभिभावक छन् । 

बेसहारा बालबालिकाका लागि सरकारी स्तरबाट संचालित एक मात्र आश्रयस्थल हो– बाल मन्दिर । नेपाल बाल संगठनद्वारा संचालित यस संस्थाले देशभरका अनाथ बालबालिकालाई आश्रय दिएर हेरचाह, पालनपोषण लगायतका काम गर्छ । बाल मन्दिरका निर्देशकको नेतृत्वमा देशभरका शाखा संचालन हुन्छन् ।

तर अनाथ बालबालिकाको संरक्षण गर्ने जिम्मा पाएका तिनै निर्देशकसँग बालबालिका तस्करसँग मिलेमतो पर्दाफास भएको छ । अझ उनकै सक्रियतामा नवजात शिशुलाई गैरकानूनी ढंगबाट विदेश लैजान फर्जी कागजात बनाएको पनि भेटियो ।

बालकृष्ण डंगोल बालगृहका निर्देशक हुन्, जो अहिले बालबालिका बेचबिखन तथा ओसारपसारको आरोपमा डिल्लीबजार कारागारमा छन् । संरक्षकको आवरणमा बसेका बालबालिका तस्करको मुकुन्डो उत्रिएको कथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू हुन्छ ।

२९ साउन २०७६ मा बेलायती महिला डोना स्मिथ (राहदानी नम्बर ५६०७९३४०२) स्वदेश फर्कन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । उनका साथमा थिइन्– एक नवजात बालिका । जसलाई स्मिथ आफैंले जन्माएको भनिरहेकी थिइन् । कागजपत्रले पनि त्यही भनिरहेका थिए ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता प्रमाणपत्र दिएको थियो । कागजमा शिशुको जन्म १२ साउन २०७६ र नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ उल्लेख थियो ।

त्रिवि विमानस्थलस्थित अध्यागमनका कर्मचारीको नजर शुरूमै स्मिथ र शिशुको कपालमा गयो । ११ साउनमा पर्यटक भिसामा नेपाल आएकी स्मिथसँग अध्यागमन कर्मचारीले लामो सोधपुछ गरे ।

उनले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा छोरी शिशु जन्माएको र उनी जन्मिएकै दिन राजधानीको एक अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएको बताइन् । रामप्रसाद श्रेष्ठ नै शिशुको बाबु भएको स्मिथले दाबी गरेकी थिइन् ।

नेपालस्थित बेलायती राजदूतावासले पनि शिशुलाई स्मिथले नै जन्म दिएको भनेर ७९२१५९३१४ नम्बरको राहदानी उपलब्ध गराएको थियो । ललितपुर महालक्ष्मी नगरपालिका–६ ले शिशुको जन्मदर्ता पनि गरेको थियो ।

अध्यागमनले स्मिथको स्वास्थ्य परीक्षण गरायो । परीक्षणले स्मिथ शिशुको आमा नभएको पुष्टि भयो । बलात्कार पीडित तराईकी एक किशोरीले थापाथलीस्थित परोपकार प्रसूति गृहमा ती बालिकालाई जन्म दिएको प्रहरी अनुसन्धानबाट देखियो । अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कागजपत्र बनाएर बालिका तस्करी गर्ने यो अपराधमा बाल मन्दिरका निर्देशक पनि संलग्न रहेको पाइयो ।

स्मिथले नवजात शिशु प्राप्त गर्न डंगोललाई ४ लाख ५० हजार नेपाली रुपैयाँ बुझाएको बयान प्रहरीसमक्ष दिइन् । उनी पक्राउ परेको भोलिपल्टै परिसरले डंगोलसहित उनका अरू सहयोगी पक्राउ ग¥यो । स्मिथले ती शिशु प्राप्त गर्न २० लाख भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले बाल मन्दिरका निर्देशक डंगोललाई र अरू विभिन्न कागजपत्र बनाउनेहरूलाई पैसा खर्च गरेको डीएसपी बोगटी बताउँछन् । काठमाडौं जिल्ला अदालतले २९ भदौ २०७६ मा स्मिथ र बाल मन्दिरका निर्देशक डंगोललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।  

फर्जी कागजमा इटाली

१० वर्षअघिको कुरा हो । सिन्धुपाल्चोक कठरीका खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे । उनीहरूका तीन छोरा मध्ये दुई थिए– रामकुमार र बालकृष्ण । बाल मन्दिरमा पठाएमा रामकुमार र बालकृष्णलाई पढाइदिने प्रस्ताव कसैले ग¥यो । आर्थिक अवस्था कमजोर भएका खड्का दम्पतीले सहमति जनाए । त्यसवेला उनीहरूको उमेर क्रमशः ८ र ६ वर्षको थियो ।

बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन । बाध्य भएर खड्का दम्पतीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले ती बालकको खोजी कार्य थाल्यो । अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो नेपालबाट हराएका ती बालकहरू इटालीमा रहेछन् । घटनाको अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा फर्जी कागज बनाएर ती बालक इटाली पु¥याइएको बताउँछिन् ।

नेपालमा आमाबाबु हुँदाहुँदै गैरकानूनी रूपमा ती बालकलाई धर्म–सन्तान बनाएर इटाली पठाइएको रहेछ । “पढाइदिने प्रलोभनमा लगेको त्यही बालगृहले नै ती बालकलाई इटाली पठाएको रहेछ” खतिवडा भन्छिन्, “कुनै पनि ठाउँमा नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो ।”   

घटनाको अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । आयोगको निर्णयमा भनिएको छ, “ती बालकलाई बाल संगठन नक्साल मार्फत धर्मपुत्रको रूपमा पठाएको भन्ने देखिंदा धर्मपुत्र सम्बन्धी कानूनी व्यवस्था, नीति समेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न, गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबु, आमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न गराउन नेपाल सरकारलाई नीतिगत सिफारिश गर्ने ।” बेपत्ता बालकहरूकी आमा मञ्जु खड्का भन्छिन्, “मलाई छोराहरूको मुख हेर्ने इच्छा छ ।”

उजुरी पर्दैन/खोजी हुन्न

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षमा एक हजारभन्दा बढी नेपाली बालबालिका बेचबिखन तथा ओसारपसारबाट पीडित छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गरिरहेका डीएसपी राजकुमार सिलवालका अनुसार, अभिभावकलाई नै फकाएर तस्करहरूले बालबालिकालाई विदेश पु¥याउने गरेका कारण धेरै घटना बाहिर आइरहेका छैनन् ।

“शिक्षित तथा सम्पन्न परिवारका बालबालिकाहरू तस्करी हुने होइनन्, तस्करको प्रभावमा पर्ने भनेका गरीब, निमुखा र सडक बालबालिका हुन् । किनकि उनीहरू र उनीहरूका अभिभावकलाई फकाउन सजिलो हुन्छ ।” डीएसपी सिलवाल भन्छन्, “यस्ता बालबालिका खोज्न प्रहरीमा उजुरी पनि नपर्ने हुँदा खोजी पनि हुँदैन । अनि तस्करले जे पनि गर्न सक्ने भए ।”

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी शिक्षा बाध्यकारी नबनाई यस्तो तस्करी रोक्न नसकिने बताउँछिन् । “समाजमा गरीबी र अशिक्षा मौलाएको छ, अभिभावक नै आफ्नो सन्तान विदेश गएर राम्रो पालनपोषण र शिक्षा पाएको हेर्न चाहन्छन्” अन्सारी भन्छिन्, “हामीले शिक्षालाई बाध्यकारी बनाउनुपर्छ तब मात्र आफ्ना सन्तान अरूसँग पठाउने कुरा अभिभावकले सोच्न पनि सक्दैनन् ।”

Loading...