पत्रपत्रिकामा प्रदेश : सिमसार मासेर पर्यटकीय स्थल

विराटनगर, ८ फागुन । दमक नगरपालिका ३ स्थित हम्सेदुम्से सामुदायिक वनभित्र रहेको सिमसारलाई पर्यापर्यटनका रुपमा विकास गर्ने भन्दै एक्स्काभेटर लगाएर पोखरी खनिएको छ ।

झापामा सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने होडबाजी चलेको छ ।

वन ऐन विपरित हुने गरी वन भित्र संरचना बनाइएका छन् । विशेषगरी सामुदायिक वनभित्र भौतिक संरचना बनाउने काम भइरहेको छ ।

पर्यटकीय स्थल बनाउने भन्दै पोखरी खनिएपनि घेराबारा नहुँदा घुम्न जाने बालबालिकाहरु डुब्ने खतरा रहेको छ ।

झापाको कन्काईमा रहेको जामुनबारी, सुकेडाँगी, मेचीनगरको बाँसबारी तथा कालिका सामुदायिक वनले पर्यटकीय स्थल सञ्चालन गरी रहेका छन् ।

वन भित्र भौतिक संरचना बनाउन वातावरणमा असर भएको समाचार कान्तिपुर दैनिकमा छ ।

उद्घोष दैनिकमा ‘म पदच्यूत भएको हैन’ शीर्षकमा समाचार छ ।

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफू सभामुखको पदबाट च्यूत नभएको जिकिर गरेकी छिन् ।

मन्त्रीको सपथ लिएको भोलिपल्टै विराटनगर आएकी शिवमायाले उपसभामुख हुँदा सत्तापक्षले सभामुख पदमा दाबी गरेपछि उपसभामुख पदबाट राजीनामा दिएको उनले प्रष्टाइन् ।

‘म्याद सकियो तर पुल बनेन’ शीर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ ।

धरान ५ स्थित देउराली खैरेनी जोड्ने अँधेरी खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको छ ।

एचएम विल्डर्सले ढिलासुस्ती गर्दा २ वर्षभित्र सम्पन्न हुनु पर्ने पुल ठेक्का समाप्त भएको ८ महिनामा पनि बनेन् ।

८ महिनादेखि विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले लापरबाही गरिरहेको छ ।

न्यू सृष्टि दैनिकमा ‘बैठकपछि होटलमा खाना नखाने जनप्रतिनिधिको महत्वपूर्ण निर्णय’ शीर्षकमा मुख्य समाचार छ ।

पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरुले बैठकपछि होटलमा खाना नखाने निर्णय गरेका हुन् ।

जनप्रतिनिधिहरुले खाना बापत झण्डै १५ लाख रुपैयाँ खानामा खर्च गर्दै आएका थिए ।

Loading...