च्याम्पियन्स लिगमा खेल्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी

एजेन्सी, ७ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगको खेलअन्तर्गत गएराति पीएसजीविरुद्ध बोरुसिया डर्टमुन्ड घरेलुमा मैदानमा खेल्दै थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा डर्टमुन्डले पहिलो खेलाडी परिवर्तन गर्‍यो ।

खेलको ६८औं मिनेटमा स्ट्राईकर थोर्गन हार्जाडको स्थानमा जर्सी नं ३२ का युवा मिडफिल्डर जियोभानी रेना डर्टमुन्डका तर्फबाट मैदानमा आए ।

च्याम्पियनस लिगमा डेब्यू गरेका रेना मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै डर्टमुन्डका लागि हालान्डले पहिलो गोल गरे ।

राफेल गुएरेरोले प्रहार गरेको बल पीएसजीका गोलरक्षक केयलर नाभासले ब्लक गरेसँगै रिबोन्डमा आएपछि हालान्डल पोस्टको दिशा दिएका थिए ।

मैदान प्रवेश गर्नसाथ जियोभानी रेनाले च्याम्पियन्स लिगको नकआउट चरणमा खेल्ने तेस्रो कम उमेरका युवा खेलाडीको रेकर्ड बनाइसकेका थिए ।

पहिलो गोल भएलगत्तै पाहुना टोली पीएसजीका तर्फबाट ७५औं मिनेटमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।

आठ मिनेटभित्र ३ गोल भएको खेलमा डर्टमुन्डका लागि हालान्डले ७७औं मिनेटमा दोस्रो एवम् निर्णायक गोल गरे ।

गोलका लागि ९ मिनेट अगाडि मात्र मैदान आएका रेनाले हालान्डको लागि डिबक्स बाहिरबाट सुन्दर पास मिलाइदिएका थिए ।

पीएसजीविरुद्धको खेलमा भएको दोस्रो तथा निर्णायक गोलका लागि असिस्ट गरेका रेना च्याम्पियन्स लिगको नकआउट चरणमा खेल्ने र एसिस्ट गर्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी बन्दै इतिहास रच्नसमेत सफल भए ।

हिजो सम्पन्न भएको खेलमा असिस्ट गर्दै गर्दा उनको उमेर १७ वर्ष ९७ दिन मात्र थियो ।

१८ जनवरी २०२०मा बोरुसिया डर्टमुन्डबाट जर्मन बुन्डेस लिगामा डेब्यू गरेका रेना बुन्डेस लिगामा खेल्ने सबैभन्दा कान्छो खेलाडी भएका थिए ।

उनीभन्दा अघि क्रिश्चियन पुलिसिक बुन्डेस लिगामा खेल्ने सबैभन्दा कान्छो उमेरका खेलाडी थिए । डेब्यू गर्ने बेलामा रेनाको उमेर १७ वर्ष ६६ दिनको थियो ।

डिएफबि–पोकल अर्थात् जर्मन कपको राउन्ड अफ सिक्सटिन अन्तर्गत वर्डर बे्रमेनविरुद्धको खेलमा पहिलो (व्यवसायीक) गोल गरेका रेना जर्मन कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीसमेत भएका थिए ।

४ फेब्रुअरी २०२० मा भएको खेलमा २४औं मिनेटमा गोल गर्दै उनले सो रेकर्ड आफ्नो नाममा लेखाएका हुन् ।

२०१५मा न्यूयोर्क सिटी एफसीबाट फुटबल खेल्न सुरु गरेका रेनाले डर्टमुन्डबाट २३ खेल खेल्दै ९ गोल गरिसकेका छन् ।

अमेरिकाको अन्डर–१५, अन्डर–१६ र अन्डर–१७ को टिमबाट खेलिसकेका रेनाले २२ खेल खेल्दै १३ गोल गरिसकेका छन् ।

Loading...