विराट एक्स्पोमा ७ करोडको कारोबार, नयाँ परिकारले भीड तान्दै

विराटनगर, ७ फागुन । विराट एक्स्पोमा राखिएका खानाका स्टलले उपभोक्तालाई आकर्षित गरेको छ ।

विशेषगरी नयाँ खालका खानाका परिकारले उपभोक्ताहरु स्वाद लिनको लागि पुग्ने गरेका छन् ।

एक्स्पोमा चटपटे, पुच्का जस्ता परिकारको पनि उत्तिकै माग छ । उपभोक्ताले चाउमिन, चाट, समोसा, लस्सी, आइसक्रिम पनि धेरै रुचाउने गरेको व्यवसायी लोकेन्द्र भगतले बताए ।

उपभोक्ताले मम, डोसा, जेरी पाउभाजीलगायतका खानाका परिकारका स्वादलाई पनि रुचाएका छन् ।

यस्तै एक्स्पोमा कुखुराको मासुबाट बनेको भिन्नैखालको परिकारमा उपभोक्ताको आकर्षण देखिएको छ ।

विराटनगरका पर्शुराम गिरीले राखेको स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको छ ।

एक्स्पोमा राखिएका खानाका स्टलमा राखिएका परिकार निक्कै स्वादिलो रहेको उपभोक्ता सुनिता घिमिरेले बताइन् ।

एक्स्पोमा दैनिक अवलोकनकर्ताको भीड बढ्दै गएको छ ।

बुधबार एक्स्पोमा ३५ हजार बढीले अवलोकन गर्नुका साथै ७ करोड रुपैयाँ बढीको कारोबार भएको जनाएको छ ।

एक्स्पोमा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

२६ करोडभन्दा बढीको कारोबार भइसकेको जनाएको छ ।

एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले दैनिक विभिन्न कलाकारले सांगीतिक महोल बनाउने क्रममा बिहीबार गायक तथा संगीतिकार कालीप्रसाद बाँस्कोटाको प्रस्तुति रहने बताए ।

मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ ।

उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।

हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ ।

नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।

३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ ।

एक्स्पोमा प्रदेशका विभिन्न दलका नेता प्रदेश प्रमुख तथा मन्त्रीहरुले दैनिक अवलोकन गर्दै आएका छन् ।

Loading...