हेल्थ प्रफेशनलको प्रजनन् स्वास्थ्य सचेतना

विराटनगर, ७ फागुन । लायन्स तथा लियो क्लब अफ विराटनगर हेल्थ प्रफेशनलले प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

प्रजनन स्वास्थ्यसम्बन्धी समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रफेशनलले बुधबार हरिनगर–४ मा रहेको हरिनगरा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा लायन्स तथा लियो क्लब अफ विराटनगर हेल्थ प्रोफेशनलका प्रतिनिधिले प्रजनन स्वास्थ्यअन्तर्गत महिनाबारीमा अपनाउनुपर्ने सावधानी, परिवार नियोजनको सही प्रयोग र आवश्यकता, सुरक्षित मातृत्व, किसोरअवस्थामा हुने गर्भको जटिलता, सुरक्षित गर्भपतन, लैङगिक हिंसा तथा यौन रोगको विषयमा जानकारी गराइएको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रफोशनलका अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पूर्वपरीक्षा लिएर सचेतना जगाएपछि कार्यक्रमपछि पनि पुनः परीक्षा लिइएको थियो । सचेतना कार्यक्रममा कक्षा ९ का ५२ जना, कक्षा ११ का ७० जना सहभागी थिए ।

सचेतना कार्यक्रममा हरिनगर गापाका शिक्षा शाखा प्रमुख अजित मल्लिक, प्रधानाध्यापक बलराम मण्डल, डाक्टर बालकृष्ण साह, गजेन्द्र यादव, वीरेन्द्र देव तथा लियो सदस्यहरूलगायत उपस्थित थिए ।

विद्यार्थीलाई लियो क्लबका सदस्यहरू आशा चौधरी, युनिका न्यौपाने, रुसा मगरले प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराएका थिए ।

Loading...