पत्रकार र लेखापरीक्षक शंकास्पद मृत्यु प्रकरण : अझै टुंगिएन प्रहरी अनुसन्धान

घिमिरेसँग होटलमा बसेका सात जनाविरुद्ध प्रहरीमा जाहेरी

विराटनगर, ७ फागुन । गत २२ मंसिरमा विराटनगर–२ का ७४ वर्षीय जयप्रसाद दाहालको शंकास्पद अवस्थामा शव भेटियो । शरीर जलेको र घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको निष्कर्ष निकाल्यो । अनुसन्धानका लागि धरानबाट कुकुर पनि ल्याइयो । तर तीन महिना पुग्नैलाग्दा प्रहरी अनुसन्धानमा उल्लेख्य उपलब्धि भएको छैन् ।

६ माघ सोमबार दिउँसो नन्दकिशोर राठीले फोन गरेर बोलाएपछि उनलाई भेट्न घरबाट निस्किएका विराटनगर–२ का लेखापरीक्षक प्रवल घिमिरे भोलिपल्ट बिहान सिंघिया खोलामा मृत अवस्थामा भेटिए ।

शंकास्पद अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले सोमबार राति घिमिरेसँग होटलमा बसेर खानपान गर्ने ५ जनासहित सातजनालाई अनुसन्धानको दायरमा ल्यायो । तर परिवारले हत्या भएको दाबी गरिरहेका बेला प्रहरीले हत्याको ठोस प्रमाण भेट्टाएको छैन ।

२४ माघमा विराटनगर–१२ मा रहेको उखुबारीमा हत्या गरी फालिएको अवस्थामा महिलाको शव भेटियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले ४८ घण्टामा घटनामा संलग्नलाई पक्राउ गर्‍यो ।

माथिका तीन घटना पछिल्लो तीन महिनामा विराटनगर महानगरपालिकाभित्र भएका हुन् । तीनमध्ये एक घटनाको अनुसन्धान प्रहरीले लगभग पूरा गरेको छ । तर दुई शंकास्पद घटना प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ ।

तीन ठूला घटनामध्ये प्रहरीले सुनसरी दुहबीका ३२ वर्षीय सम्झना खत्री परियारको शव भेटेको ४८ घण्टा बित्न नपाउँदै हत्या आरोपी पक्राउ गरेको हो । २४ माघमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भइ मोरङको बुढीगंगा गाउँपालिका–३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो ।

तर शंकास्पद दुई घटनामा भने अनुसन्धान उपलब्धि नभएको मोरङ प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राई दुवै घटनाको अनुसन्धान गरिरहेको बताउँछन् ।

प्रहरीका अनुसार लेखापरीक्षक घिमिरेको भन्दा दाहालको मृत्यु बढी शंकास्पद छ । काठमाडौं बसोबास गर्दै आएका दाहाल २१ मंसिर मा विराटनगर आएका थिए । उनको शव भोलिपल्ट बिहान आधा जलेको र घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । भान्सामा रहेको ग्यास सिलिण्डर उनको शव नजिकै थियो । घाँटीको चोट र किचनको सिलिण्डर कोठामा ल्याएर आगो बालेको देखिएपछि अनुसन्धान सुरु गरेपनि उपलब्धि हासिल नभएको प्रहरी बताउँछ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी दाहाल र घिमिरे मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको बताउँछन् ।

जग्गा बिक्रीका लागि आएका दाहाल फर्कन पाएनन्

गत २२ मंसिरमा दाहालको बीभत्स अवस्थामा शव भेटिएपछि अनुसन्धान गरिरहेको मोरङ प्रहरीले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । ग्यासको सिलिण्डर आगो लागेको अवस्थामा भेटिएको शवको घाँटीमा गहिरो चोट र शव छेउमा चक्कु भेटिएको थियो ।

पूर्वपत्रकार दाहाल विराटनगरको घर जग्गा बिक्रीका लागि भन्दै आएका थिए । दाहालको घरको रेखदेख विराटनगरका राधेश्याम दराकले गर्दै आएका थिए । २१ मंसिर शनिबार साँझ दराककै घरमा खाना खाएर फर्किएका दाहाललाई २२ मंसिर बिहान दराकले नै भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएर हेर्दा मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दाहालको घर पनि दराकले नै भाडामा लिएका थिए । दाहाल काठमाडौंबाट आएकै दिन उनले घर खाली गरेका थिए ।

घटना अनुसन्धानका क्रममा प्रहरीले दराकको बयान पनि लिएको थियो । तर घटनाको तीन महिना पुग्नै लाग्दा कसैको संलग्नता देखाउन सकेको छैन । भान्सामा हुने ग्यासको सिलिण्डर ओछ्याननजिकै भेटिनु र शवमा पनि चोट देखिएका कारण दुर्घटना नभइ योजनावद्ध रूपमा हत्या भएकाले प्रहरी स्रोत बताउँछ ।

करिब २० वर्षयता काठमाडौं बसोबास गर्दै आएका दाहाल कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्री गर्ने भन्दै आएका थिए ।

आउँदैछु भनेका प्रवल घर पुगेन्, ७ जनाविरुद्ध जाहेरी

आठ वर्षयता लेखापरीक्षकको काम गर्दै आएका घिमिरे ६ माघ बेलुका उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनलाई भेट्न गएका थिए । राठीसँग केही समय काम गरेपछि उनी आमाज बेकरी क्याफे हुँदै होटल मुन र लोटस बारमा पुगेका थिए । राति अबेरसम्म घिमिरे घर नआएपछि उनको परिवारले खोजी गरेको थियो । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।

विराटनगरका ठूला ५० हाराहार कम्पनीको अडिट गर्दै आएका घिमिरे अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । राठीका उद्योगको लेखा परीक्षण लामो समयदेखि घिमिरेले नै गर्दै आएका थिए । राठीको उद्योगमा केही समय बसेपछि उनीहरू त्यहाबाट आमाज वेकरी पुगे ।

आमाजबाट नन्दकिसोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरू भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । मुन होटलमा विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल, झापा सताक्षीधामका विनय कर्ण, उर्लाबारीका अनिल चाण्डकसँग भेट भयो । होटलमा मुन होटल सञ्चालक विजयराज प्रसाइँपनि भेटिए ।

सँगै खानपानपछि उनीहरू होटल मुनबाट लोटस बार पुगे । लोटस बारबाट चाण्डकको गाडीमा वडा प्रहरी कार्यालय विराटनगर अगाडि उत्रिएका उनी श्रीमतीले फोन गर्दा घर आउँदैछु भने पनि घर पुगेनन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सँगै होटलमा बसेका ६ सहित नन्दकिशोर राठीका सवारी चालक पशुपति खड्का, चाण्डकका सवारी चालक चन्द्रबहादुर दर्जीमाथि अनुसन्धान गरेको छ ।

मृतकका आफन्तले पनि सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका छन् । मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार घटना भएको राति सँगै रहेका नन्दकिशोर राठी, विराटनगरका सुन पसल सञ्चालक अरुण राठी, अशोक अटल, झापा सताक्षीधामका विनय कर्ण, उर्लाबारीका अनिल चाण्डक, नन्दकिशोरका सवारी चालक पशुपति खड्का, चाण्डका सवारी चालक चन्द्रबहादुर दर्जीमाथि अनुसन्धान गर्न माग गर्दै जाहेरी परेको छ ।

Loading...