पत्रपत्रिकामा देश : बैंकबाट २ प्रतिशतमा पैसा लिएर विपन्नबाट १९ प्रतिशत असुल्दै लघुवित्त

विराटनगर, ७ फागुन । नयाँ पत्रिका दैनिकले फलोअप समाचार बैंकबाट दुई प्रतिशतमा पैसा लिएर विपन्नबाट १९ प्रतिशतसम्म ब्याज असुली शीर्षकमा मुख्य समाचार छ ।

एकै व्यक्तिलाई १६ वटा लघुवित्त संस्थाहरुले समेत ऋण दिएका छन् ।

यसैकारण पनि किस्ता तिर्न नसक्नेको उठिबास भएको छ ।

नेपाल राष्ट्रबैंकका कार्यवाहक गर्भनर चिन्तामणि सिवाकोटीले अहिले लघुवित्तहरुको संख्या धेरै भएकोले अनुगमन गर्न समेत राष्ट्र बैंकको क्षमताले नभ्याउने भएको बताएका छन् ।

अन्नपूर्ण पोष्टमा ‘यसरी गयो ट्रष्टको जग्गा व्यक्तिको नाममा’ शीर्षकमा मुख्य खबर छ ।

नेपाल ट्रष्टको कार्यालयले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएको जग्गा आफ्नो नाममा ल्याउन सिफारिस गरेको छ ।

ट्रष्टको नामामा रहेको मातातीर्थ, बालाजु र सतुंगलको १ सय ७३ रोपनी जग्गा मन्त्रिपरिषदबाट नीतिगत निर्णय गराई करिब १ सय जनाको नाममा दर्ता गरिदिएका थिए ।

सरकारको स्वामित्वमा रहेको जग्गामा कमाउने व्यक्तिलाई मोही हक प्राप्त हुने छैन भन्ने कानूनी व्यवस्था अनुसार सो जग्गामा मोही नलाग्ने भन्दै ट्रष्टले जग्गा एकल स्वामित्वमा कायम गर्न सरकारलाई सिफारिस गरेको हो ।

‘तानातानमा नेपाल’ शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूह बलियो बनाउन बरिष्ठ नेता माधवकुमार नेपाललाई तानातान गर्न थालेका छन् ।

दुवै अध्यक्षहरुले नेपालसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

तर माधव नेपाल झ्याप्पै विश्वास गरिहाल्ने पक्षमा नरहेको श्रोतले बताएको छ ।

काठमाडौं महानगरको ढुकुटीमा मनपरी शीर्षकमा नागरिक दैनिकमा मुख्य खबर छ ।

जनताले तिरेको कर जनप्रतिनिधिहरुले जथाभावि लिने गरेका छन् ।

जनप्रतिनिधिले औषधि उपचारको बिल पेस गरेर ५१ लाख ५८ हजार रुपैयाँ लिएका छन् ।

Loading...