पत्रपत्रिकामा प्रदेश : कबुलियतनामा गराएर बढी शुल्क असुल्दै नोबेल

विराटनगर ७ फागुन । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको धम्कीपछि अभिभावकहरु सञ्चालकलाई साढे ७ लाख रुपैयाँ बढी बुझाउन बाध्य भएका छन् ।

तोकिए भन्दा ७ लाख ५० हजार रुपैयाँ नदिए विद्यार्थीलाई कलेज प्रवेश गर्न नदिने धम्कि दिएपछि बाध्य भएर कबुुलियतनामा गर्नु परेको अभिभावकहरुले बताए ।

सरकार, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, अख्तियार र जिल्ला प्रशासन कार्यालय गुहारेपनि कसैले नसुनेको ती अभिभावकको भनाइ छ ।

‘माथिबाट भित्र छिर्न नदिने आदेश छ, मुखले भनेको मान्नुस्, घिच्याएर निकाल्नु नपरोस’ भन्दै कलेजका कर्मचारीले धम्काएको उनले बताए ।

यस्तै होस्टल बस्न अनिवार्य र होस्टल शुल्कबापत वार्षीक १ लाख २० हजारका दरले थप शुल्क बुझाउनु पर्ने अभिभावकलाई बाध्यता रहेको समाचार कान्तिपुर दैनिकमा छ ।

उद्घोष दैनिकमा जताततै मोही किचलो शीर्षकमा मुख्य खबर छ ।

भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरमा मंगलबार अहिले मोही र जग्गावालहरुको भिड हुने गरेको छ ।

प्राय जसो प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेलको कार्यकक्षमा मोही र जग्गाधनीबीच विवाद भइरहेको हुन्छ ।
सरकारले २०५२ सालमा जमिन माथिको द्वैध स्वामित्व समाप्त गरेको भएपनि जग्गाधनी र मोहीबीचको विवाद भने अझै सकिएको छैन् ।

मोही दाबी गरेपछि जग्गाधनीसँग पैसामा राम्रो बार्गेनिङ गर्न पाउने भएपछि दलालहरुले नक्कली मोही समेत खडा गर्न थालेका छन् ।

रंगेली अस्पतालमा सहमति

यस्तै रंगेली अस्पतालमा सहमति भएको समाचार पनि उद्घोष दैनिकमा छ ।

प्रसूति गराउन आएकी आमा र बच्चा दुबैको मृत्यु भएपछि तनावग्रस्त भएको रंगेली अस्पलतामा सहमति भएको हो ।

मंगलबार बेलुका घटनाको छानविन गर्न समिति बनाउने भएपछि मृतकका आफन्तहरु शवको पोष्टमार्टम गर्न सहमत भएका छन् ।

रंगेली ९ दोहमनाकी २५ वर्षीया रविना सरदारको प्रसूती गराउने क्रममा आमा र बच्चा दुबैको मृत्यु भएको थियो ।

चिकित्सकको लापरवाहीले आमा र बच्चा दुबैको मृत्यु भएको भन्दै आफन्तले विरोध प्रदर्शन गर्दै अस्पतालको सेवा समेत ठप्प पारेका थिए ।

इटहरी अस्पतालमा औषधि र चिकित्सक दुवै अभाव शीर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ ।

सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि इटहरीमा अभाव भएको छ ।

७० किसिमका औषधि सरकारले निःशुल्क वितरण गर्ने भएपनि अधिकांश औषधिको अभाव रहेको छ ।

इटहरीको एक मात्र सरकारी अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मारमा परेका छन् ।

यस्तै अस्पतालमा बिरामीको चाप बढेपनि डाक्टरहरुको समेत अभाव भएको छ ।

Loading...