मानसिक रोग लागेका मानिसहरू पागल होइनन्, बिरामी हुन्

शारीरिक रूपमा स्वस्थ रहन जति जरुरी हुन्छ त्यसैगरी नै मानसिक रूपमा पनि स्वस्थ रहनु उत्तिकै आवश्यक हुन्छ । अधिकांश मानिसहरूले डिप्रेसनलाई मात्र मानसिक रोग सोच्ने गर्छन् । तर, विराटनगरको कोशी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. निकेश राजभण्डारी डिप्रेसन मानसिक रोगको एउटा पार्ट मात्र भएको बताउँछन् । मानिसहरूमा देखिने मानसिक रोगहरूबारे मनोचिकित्सक निकेश संक्षिप्त रूपमा यसरी जानकारी दिन्छन् ।

अझै हटिसकेको छैन मानसिक रोगबारेको गलत धारणा

अझै समाजमा मानसिक रोगलाई हेयको दृष्टिले हेर्ने गलत चलन कायमै छ । मानसिक रोग लागेमा पागल भयो भनेर छिःछीः दुरदुर गर्ने र उसको परिवारलाई पनि हेयको दृष्टि हेर्ने गरिन्छ । अझै पनि मानसिक रोग पापले गर्दा लागेको हो भन्ने र यो डाक्टरले हैन धामीले मात्र निको पार्छ भन्ने गलत सोच हाबी छ ।

अझै धेरैले त मानसिक रोग लागेमा अस्पताल लगेर उपचार गराउनुभन्दा भूतप्रेत, बोक्सी लागेको भनेर धामीकोमा लगेर झारफुक गराउने गरेका छन् । यो गलत हो । समयमै सही उपचार नभएकै कारण समाजमा मानसिक रोगीहरू बढिरहेका छन् ।

अझै खुलेर उपचार गराउन धकाउँछन् बिरामीहरू

अर्कोतिर मानसिक रोग लागेको बिरामीलाई फरक दृष्टिले हेरिदिँदा उनीहरू खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । मानसिक रोगको उपचार गराउन अस्पताल जाँदा अरुले देख्लान् र मलाई नानाथरि भन्लान् भन्ने भय हुनेगर्छ । अर्कोतिर मानसिक रोगको उपचार गराइरहेका बिरामीहरू म मानसिक रोगी हुँ र औषधि सेवन गरिरहेको छु भनेर ढुक्क भन्न सक्दैनन् । किनभने समाजले थाहा पाएमा उसलाई सहयोग गर्नुको साटो होच्याउने, संगत र जिम्मेवारीबाट मुक्त गराउने काम हुन्छ । वास्तविकता के हो भने जसरी सबैखाले रोग निको हुन्छन् मानसिक रोग पनि निको हुन्छ । र, यो पनि अरु जस्तै रोग मात्र हो । गलत सोच हटाउनुपर्छ । मलाई पेटको, मलाई, पक्षघातको मलाई टाउकोको बिमार छ भने जस्तै मलाई मानसिक बिमार छ भन्ने अवस्था निर्धक्क सृजना हुनुपर्छ ।

२० देखि ६० वर्ष उमेर समूहमा बढी मानसिक रोग

मानसिक रोग यही उमेर समूहकालाई मात्र लाग्छ भन्ने हुँदैन, बालक, किशोर, युवा, प्रौढ र वृद्ध सबै अवस्थाका मानिसलाई यो रोग लाग्दछ । कोशी अस्पतालमा खासगरी २० देखि ६० वर्षको उमेर समूहका बिरामीहरू धेरै आउने गर्छन् । यसैले पनि भन्न सकिन्छ मानसिक रोगले बढी पीडित हुने उमेर समूह पनि यहीँ हो ।

मानसिक रोग लागेका मानिस पागल हैनन्, बिरामी हुन्

हालसम्मको अध्यनअनुसार मानसिक रोगका तीन सयभन्दा बढी प्रकारहरू पत्ता लागिसकेका छन् । मानसिक रोगलाई मुख्यतः समान्य, कडा र जटिलखाले भनेर व्याख्या गर्न सकिन्छ । डिप्रेसन समान्य अवस्था हो । यो समयमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ । डिप्रेसनको समयमा उपचार भएन भने नै रोग बढेर मेनियातर्फ जाने हो । सबैखाले मानसिक रोगहरू ठीक हुन्छन् । तर जटिलखाले रोगहरूलाई भने लामो समय औषधि सेवन गर्नुपर्ने हुन्छ । मानसिक रोग लागेका व्यक्तिलाई पागल ठान्नु र भन्नु गलत हो । किनभने कडाखाले मानसिक रोग लागेका व्यक्तिहरूपागल हैनन्, बिरामी हुन् । उनीहरूलाई सही उपचार, माया र संरक्षणको आवश्यकता पर्दछ । जबसम्म मानिसहरूमा बुझाइको कमी थियो, मानसिक रोगीहरूलाई पागल भन्ने गरिन्थ्यो । विस्तारै विस्तारि पागल भन्ने शब्द अहिले हराउँदै गइरहेको छ । पागल हुनु पनि एक प्रकारको मानसिक रोग हो । डिप्रेसन तथा एन्जाइटी भएका मानिसहरूलाई पनि उनीहरूको दिमागमा समस्या आएको महसुस भए पनि जुनलाई चाहिँ मानिसहरूले पागल भनेर ब्याख्या गरेका हुन्छन् त्यसप्रकारको लक्षणहरू भने देखा पर्दैन । पागल भन्नु हुँदैन किनभने सबै जना रोगी हो । पागल हुने भनिने रोगलाई सिजोफ्रेनिया भन्ने गरिन्छ । मान्छेले बाटोमा हिँड्ने, फोहोर टिपेर खाने गर्ने मानिसलाई पागल भनिन्छ तर, तिनीहरूलाई सिजोफ्रेनिया भन्ने रोग लागेको हो । सिजोफ्रेनिया भएका ८५ प्रतिशत व्यक्तिहरूलाई मासिक ३०० रुपैयाँको औषधिले मात्र पनि निको पार्न सकिन्छ ।

अन्य विभागबाट रिफर भएर आउँछन् बिरामी

बिरामीहरू आफैँ बुझेर, लक्षणहरू हेरेर मानोचिकित्सककहाँ जानुपर्छ भन्ने सोच राख्दैनन् । त्यसैले, हामी कहाँ बुझेर आफैँ आउने बिरामीहरू धेरै कम प्रतिशत मात्र छन् । कसैले भनेर वा सुझाव दिएको कारणले पनि बिरामीहरू आउँछन् । नत्र आएका बिरामीहरूलाई पहिला फिजिसियन वा अन्य डाक्टरकहाँ परीक्षण गराएर रिफर गरिएको हुन्छ ।

मनसँग जोडिएको हुन्छ एन्जाइटी डिसअर्डर

मनमा उत्पन्न भएको डरका देखिने समस्यालाई एन्जाइटी डिसअर्डर भन्ने गरिन्छ । एन्जाइटीमा हुने भनेकै डर, तनाव र चिन्ता हो । चिन्ता के कारणले भएको हो त्यहीअनुसार एन्जाइटीलाई विभिन्न भागमा छुट्याइएको हुन्छ । मनमनै डर बढ्नुका साथै शारीरिक लक्षणहरू पनि देखा पर्न थाल्छन् । डर लाग्ने, मुटुको गति तेज हुने, सास फेर्न गाह्रो हुने, शरीर कमजोर हुने, टाउको दुख्ने, हातखुट्टा झमझम हुने, व्यवहारमा परिवर्तन हुने, अनौँठा विचार आउने, रिंगटा लाग्ने, मर्ने सोच आउने जस्ता लक्षणहरू देखापर्ने गर्छ ।

जीवनमा हरेक मानिसलाई हुन्छ एन्जाइटी

कुनै पनि मानिसलाई जीवनमा एक न एकपटक पक्कै पनि डर लागेको हुन्छ । स्कुलमा शिक्षकले बोलाउँदा, काम बिगारेको बेलामा, आमाबुबाले बोलाउँदा, मनपरेको मान्छे अगाडि आएमा वा अन्य कुराले डर अवश्य लागेको हुन्छ । यी कुराबाट डर लाग्नुलाई समस्या अवस्थाको रूपमा लिन सकिन्छ । तर, असामान्य अवस्थामा विनाकुनै कारण मनमा डर भइरहने हुन्छ, अवचेतन मस्तिष्कमा विभिन्न कुराहरू आउन थालेमा यसलाई सामान्य मानिँदैन । कुनै प्रकारको कारणविना नै मनमा डर आइरहन्छ भने यसलाई प्यानिक डिसअर्डर भनिन्छ ।

एन्जाइटी डिसअर्डरका प्रकार, सामान्य सुनिए पनि एकदम जटिल

एन्जाइटी डिसअर्डर धेरै किसिमको भएपनि मानिसमा धेरै देखिने भनेको प्यानिक डिसअर्डर हो । प्यानिक डिसअर्डर डरका कारणले भएपनि डर केका कारणले लाग्ने भन्ने थाहा हुँदैन । दिनभरि केही कुरामा अफ्ठ्यारो लाग्ने, जे गर्दा पनि मनमा डर भइ रहने, कसैसँग कुरा गर्दा वा कहीँ जानुपर्दा पनि डर लागेमा जेनेरल एन्जाइटी डिसअर्डर भनिन्छ । केही कुरा, जनावर वा सामानसँग लाग्ने डरजस्तै पानी, उचाई, जनावर, भिड आदिलाई फोबिक एन्जाइटी डिसअर्डर, सामाजिक अवस्थामा उत्पन्न हुने डर, नयाँ मानिससँग बोल्दाको डर, धेरै मानिसहरूको अगाडि बोल्न नसक्ने डरलाई सोसल एन्जाइटी डिसअर्डर तथा कुनै पनि ज्यान जोखिममा परेको क्षणहरू सम्झेर, यातना, मृत्युशोकका कारण उत्पन्न भएको तनाव तथा डरलाई पीटीएसडी अर्थात् पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ । त्यस्तै, ओबेसिभ कम्पल्सिभ डिसअर्डरका रोगीहरूलाई एउटा प्रकारको मात्र सोच आउने गर्छ । यस समस्याबाट ग्रसित भएका ९० प्रतिशत बिरामीहरू संक्रमण हुने डर, हात फोहोर छ कि भन्ने सोच आउने कारणले बारम्बार हात धोइराख्ने, स्यनिताइजरको प्रयोग गरिराख्ने गर्छन् । माथि भनिएका कुराहरू सामान्य लागे पनि बिरामीहरूमा लक्षणहरू एकदम जटिल हुने गर्छन् ।

मूडसँग जोडिएको हुन्छ डिप्रेसन

हरेक समयमा मानिसहरूको मूड फरक–फरक हुन्छ । तर, हरेकपटक निराश भएमा, खुशी हुने समयमा नि दुःखी भएमा, साथीहरूसँग हुँदा, रमाइलो गरिरहेको बेलामा, आफूलाई चाहिएको कुरा पाउँदा पनि दुःखी र निराश नै रहिरहन्छ भने डिप्रेसन भएको बुझिन्छ । डिप्रेसनको मुख्य लक्षण भनेकै दुःखी र निराश हुनु हो । साथै, केही काम नगरी थकाइ महसुस हुने, शरीर स्वस्थ भएपनि कमजोर महसुस हुने, शरीरमा बल नै नभएको जस्तो हुने, पहिला रमाइलो र खुशी लाग्ने कुरामा अहिले वास्ता नहुने, ध्यान एकाग्र गर्न नसक्नु, आत्मबलमा कमी, आफूलाई बेकार र दोषी मान्ने, भविष्य नै नभएको जस्तो सोच्ने, खानपिन र निन्द्रामा समस्या र अन्त्यमा आएर कडा डिप्रेसन भएको खण्डमा आत्महत्या गर्ने जस्तो विचार आउने गर्छ । दुःखी भएको मानिसले सजिलै थाहा भएको कारणले डिप्रेसनलाई मान्छेले सजिलै चिन्न सक्छ ।

डिप्रेसन र एन्जाइटी हुने ठोस कारण छैनन्

अरु रोगहरू संक्रमण तथा जीवाणुका कारणले हुनसक्ने भए पनि डिप्रेसन र एन्जाइटी हुने ठोस कारणहरू छैनन् । डिप्रेसन, एन्जाइटी र मानसिक रोग हुनुका विभिन्न कारकहरू हुने गर्छन् । कसैलाई शारीरिक कारणले, वातावरण कारणले, जैविक तथा मनोवैज्ञानिक कारणको अन्तरक्रियाका कारणले मानिसहरूलाई डिप्रेसन तथा एन्जाइटी हुने गर्छ । कहिलेकाँही डिप्रेसनका लक्षणहरू वा डिप्रेसनसँग मिल्ने लक्षणहरू शारीरिक कारण तथा शरीरमा लागेका रोगहरूले गर्दा पनि हुनेगर्छ । त्यसमधे सबैभन्दा बढी देखापर्ने भनेको थाइराइडको रोगीहरूमा हुने गर्छ । लगभग २५ प्रतिशत डिप्रेसन भएका व्यक्तिहरूमा हाइपोथाइराइडिजम भएको पाइन्छ ।

मौसम परिवर्तन भए पनि डिप्रेसन हुन सक्छ

सिजनल इफेकटिभ डिसअर्डर अर्थात् मौसमसँगै मुड परिवर्तन भएर हुने डिप्रेसनलाई बुझिन्छ । यो हाम्रो देशमा त्यति देखिँदैन तर, कम घाम लाग्ने देशहरूमा जाडोको समयमा मानिसहरूलाई डिप्रेसन हुन सक्छ । यस्तो लक्षणहरू डिप्रेसन जस्तै नै हुन्छन् तर, एउटा मौसममा मात्र सीमित हुने गर्छ ।

पद्दतिहरू विभिन्न भएपनि हामीसँग औषधिको सेवन मात्र उपलब्ध

कुनै–कुनै मानसिक रोगमा जैविक समस्याहरू धेरै हुन्छ, यस्तो बेलामा भने औषधिको सेवन गर्नुपर्ने हुन्छ । कुनै व्यक्तिहरूमा सामाजिक तथा मनोवैज्ञानिक कारकहरू महत्वपूर्ण हुन्छ जसकारण उनीहरूलाई औषधिको कम मात्रासँगै सामाजिक तथा मनोवैज्ञानिक तरिकाले उपचार गर्नुपर्ने हुन्छ । मानसिक रोगको उपचार गर्ने पद्दतिहरू विभिन्न किसिमको भएपनि हामीसंग उपलब्ध भनेको औषधि मात्र हो । औषधि खान सजिलो छ, खाएपछि दिनभरिको काम गर्न सकिन्छ । औषधिबाहेकको उपचार गर्नका लागि हाम्रो देशमा जनशक्ति छैन ।

यसका लागि क्लिनिकल साइकोलोजिस्टहरू चाहिंन्छन् जुन उपलब्ध छैनन् र साइकोथेरापीको ट्रेनिङ हुनुपर्‍यो त्यसको लागि समयका साथै प्रशिक्षित साइक्याट्रीस्टहरू पनि छैनन् र हाम्रो ३ वर्षको परीक्षण कालमा पनि पर्दैन । औषधिको सेवन नगरी उपचार गर्नका लागि दैनिक वा हप्तामा एकपटक अस्पताल आउनुपर्ने कारणले टाढाका बिरामीहरूलाई औषधिविना उपचार गर्न निकै गाह्रो हुन्छ । धेरै औषधिहरू पनि नहुने तथा खान पनि सजिलो भएका कारण औषधिको प्रयोग गरिने गरिन्छ । विभिन्न किसिमको औषधि हुने हुँदा मानिसको शारीरिक अवस्थालाई हेरेर औषधि दिने गरिन्छ ।

मानिसक रोगको औषधि खाँदा जीवनभर खानुपर्ने, बानी हुने तथा खाँदा किड्नी बिग्रिने जस्ता गलत धारणा राखेका हुन्छन् । डिप्रेसनको औषधि खाँदा किड्नी, लिभर बिग्रिने गर्दैन । डिप्रेसनको औषधि बन्द गर्नका लागि अलिकति प्रयास अवश्य पर्छ । औषधि बन्द गरेपछि ३ देखि १० वर्षभित्र डिप्रेसन फर्केर आउँदा फेरि औषधि खानुपर्ने हुन्छ । बानी भने परेको हुँदैन ।

मानसिक रोगको उपचारको लागि परामर्श दिनु एक किसिमको कुरा मात्र

हरेक रोग लागेको व्यक्तिलाई र हरेक डाक्टरले आफ्नो बिरामीलाई परामर्श दिने गर्छन् । औषधि खाने, जीवनशैली परिवर्तन गर्ने, व्यायाम गर्ने जस्ता दिएको परामर्शलाई शिक्षाको रूपमा मान्न सकिन्छ । तर, मानसिक रोगको उपचारका लागि परामर्श दिनु र विशेष उपचार दिनु निकै फरक छ । विशेष तरिकाको परामर्श दिनुलाई साइकोथेरापी भनिन्छ । जस्तै शारीरिक व्यायाम गर्नुलाई फिजियोथेरापी भनेझै सामान्य भाषामा मानिसक व्यायाम गराउनुलाई साइकोथेरापी भन्ने गरिन्छ । डिप्रेसनको कुरा गर्दा संज्ञानात्मक व्यवहार थेरापी (कग्नितिभ बिहेभियर थेरापी) औषधि जस्तै राम्रो मानिन्छ । तर, यसको लागि साइकोथेरापिस्टहरूलाई विशेष परिक्षण दिइएको र बिरामीको घर पनि नजिकै हुनुपर्छ ।

मस्तिष्कलाई स्वास्थ्य राख्न आवश्यक ५ कुरा

हल्कादेखि मध्यम प्रकारको मानिसक रोग भएका व्यक्तिहरूलाई औषधि खानुपर्ने जरुरी हुँदैन । लक्षणहरू थाहा पाएर वा मानसिक स्वास्थ्यका लागि ५ वटा कुरा गर्न सकिन्छ । पहिलो नम्बरमा सुत्न एकदम आवश्यक हुने हुँदा, ढिलो सुत्ने बानी भए पनि सुत्ने रुटिन मिलाएर कम्तिमा ८ घण्टा सुत्न अतिआवश्यक हुन्छ । दोस्रोमा, बिहान उठेर आफूलाई सजिलो लाग्ने कुनै पनि शारीरिक व्यायाम, योग, वा ३ किलोमिटर हिँड्ने गर्नुपर्छ । तेस्रोमा खानपानमा एकदम ध्यान दिन आवश्यक हुन्छ । बाहिरको जंक फूडभन्दा पनि घरकै खानेकुरा खाने, ठिक्क तरिकाले सागसब्जी तथा फलफूलको मात्रा बढाउने र चुरोट, रक्सी, सुर्ती तथा लागूऔषधको प्रयोग गर्नु हुँदैन । अलिकति बियर, रक्सीको सेवनले डिप्रेसन कम गर्छ भने पनि रक्सीजन्य पदार्थको सेवनले डिप्रेसनलाई थप बिगार्ने काम गर्ने हुँदा अलिकति पनि खानु हुँदैन ।

चौथोमा कुनै (हबी) शौक अर्थात् केही गर्ने चाहना राख्न आवश्यक हुन्छ । ५० वर्षकै उमेर भए पनि आजकल टेक्नोलोजीका कारण नयाँ नयाँ कुराहरू पनि सिक्न सकिन्छ, लुँडो खेल्ने तथा विभिन्न खेलकुद खेल्न सकिन्छ । र, अन्तिममा सामाजिक सम्बन्धहरू राम्रो बनाउनु पर्छ । आफ्नो परिवारसँगको सम्बन्ध र कोहीसँग आफ्नो मनको कुरा भन्न सक्ने मान्छे बनाउन आवश्यक छ । यति ५ वटा कुरालाई ध्यान राखेमा एन्जाइटी तथा डिप्रेसनलाई एकदम राम्रो हुन्छ ।

परिवारको भूमिका, मन्दिर तथा माताकोमा भन्दा पनि अस्पताल लान जरुरी

परिवारको लागि पनि गर्नु नै पर्ने भन्ने रुल छैन । केही गरिरहँदा डिप्रेसन ठीक हुन्छ भन्ने पनि हुँदैन । कुनै अवस्थामा पुगेपछि डिप्रेसनको लागि औषधि नै चाहिन्छ । कसैलाई औषधिविना पनि निको हुने गर्छ । परिवारले गर्न सक्ने भनेकै समर्थन गरेर साथ दिनु हो । केही कुरामा रियाक्ट गरेर बोल्नुभन्दा पनि त्यहाँ उपस्थित हुनुपर्छ । सकारात्मक तरिकाले प्रोत्साहन गर्ने, आफ्नो भाषाको टोनलाई पनि राम्रो बनाउने, प्रेरित गर्ने, स्याबासी दिने, आलोचना नगर्ने, शब्दको प्रयोगमा अत्यन्त ध्यान दिने, रक्सी तथा चुरोटजन्य पदार्थको सेवन गर्छ भने छुटाउने प्रयास गर्ने गर्नुपर्छ । यति गर्दा गर्दै पनि सकिएन भने मानसिक रोग भएको व्यक्तिलाई अस्पताल ल्याउने काम पनि परिवारले नै गर्नुपर्ने हुन्छ । कही पनि दुखाइ नहुने कारणले कस्तो समस्या भएको मानसिक रोगिलाई थाहा हुँदैन । तर, यो रोग मनको वा मस्तिस्कको मात्र हुन्छ । यदि परिवारले फरक स्वभाव देख्न थालेमा, एक्लै एक्लै बस्न थालेमा, आत्मबल कमी भएको कुरा गरेको खण्डमा सल्लाह गरेर अस्पताल लानुपर्छ । औषधि खुवाउने डरले बिरामीहरूलाई अस्पतालमा भन्दा पनि मन्दिर तथा माताकोमा लाने गरिन्छ । यस्तो ठाउँमा लागेपनि एक पटक अस्पताल लान बिर्सिनु हुँदैन ।

प्रस्तुति : अंकिता ताम्राकार

Loading...