दाह्री ग्याङका चार मन्त्र : गालामा दारी, काँधमा जिम्मेवारी, दिमागमा समझदारी अनि काममा साझेदारी

सविन घिमिरे

केही वर्षअगाडि जगदीश भण्डारी र मनोज मालाकार संस्कृतविद् सत्यमोहन जोशीलाई भेट्न उनको घर गएका थिए । ‘तपाईंहरू दाह्री ग्याङ त होइन ?’ जोशीले हाँस्दै भने र संस्कृतविद् सत्यमोहन जोशीको कुरा उनीहरूले बुझेनन् । तर, जोशीले भनेका दाह्री ग्याङ्ग नाम उनीहरूलाई ‘क्याची’ छ भन्ने लाग्यो । यो भेटभन्दा अगाडिदेखि नै २५ जनाको एउटा फेसबुक ग्रुप उनीहरूको थियो । यस ग्रुपमा रमाइलो कुरा र केही व्यक्तिगत सूचना आदान–प्रदान हुने गर्दथ्यो ।

तर, २०७२ सालको भूकम्पपछि उनीहरू सोही ग्रुपमार्फत सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका थिए । अन्य फेसबुक ग्रुपको सूचना आफ्नो च्याट ग्रुपमा सेयर गरेर विभिन्न ठाउँमा सहयोग गर्न पुग्थे । पछि उनीहरूले च्याट ग्रुपलाई फेसबुक ग्रुपको रूपमा विकास गर्ने सोच बनाए । नाम के राख्ने भनेर साथीहरूबीच छलफल भयो र सोहीबेला सत्यमोहनले उच्चारण गरेको शब्द ‘दारी ग्याङ’ उनीहरूको दिमागमा आयो र ग्रुपको नाम नै ‘दारी ग्याङ’ राखियो ।

दाह्री पाल्ने युवाहरूको समूहलाई संकेत गरे पनि यस समूहमा दाह्री नपालेका व्यक्तिहरू पनि आवद्ध छन् । यस समूहमा कुनै पनि युवतीहरूलाई राखिएको छैन । तर, दारी ग्याङ्गले गरेका सामाजिक कार्यहरूमा युवतीहरूको सहयोग पनि यस समूहले लिने गरेको छ । कलाकारहरू दीपकराज गिरी, सीताराम कट्टेल ‘धुर्मुस’, निश्चल बस्नेत, प्रदीप खड्का, विपिन कार्कीलगायत नाम चलेका प्रायः सबै सेलिब्रेटी ग्रुपसँग जोडिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा दाह्री ग्याङ निकै चर्चामा छ । यहीँ फागुन ६ गते दाह्री ग्याङले आफ्नो चौथो वार्षिक उत्सव मनाउँदै छन् । यस समूहले १ असार २०७६ मा समूह दर्ता भइ नेपाल सरकारबाट आधिकारिक मायता प्राप्त गरेको छ । ग्याङ भन्ने शब्द सुन्दा धेरैले यसले नकारात्मक सोच्ने पनि गरेका छन् । झट्ट सुन्दा यो त गुण्डाहरूको समूह हो कि जस्तो पनि लाग्छ । तर यस समूहले देश तथा विदेशमा गरेको सामाजिक कार्यहरूले त्यो भ्रमलाई गलत सावित गर्दछ ।

‘दारी ग्याङ’ले दाह्रीप्रति आममानिसको धारणा नै परिवर्तन गरिदिएको छ । यो समूहका कारण दाह्री एक प्राकृतिको वरदान साथै परिपक्वता र जिम्मेवारी वहन गर्नसक्ने अवस्था पनि हो भन्ने कुरालाई प्रमाणित गरेको छ । दारी ग्याङका एक एडमिन अभिषेक राजसिंह थापा यससमूहको लागि दाह्री रहर मात्र नभएर जिम्मेवारीबोधको प्रतीक पनि हो भन्ने धारणा राख्छन् । यस समूहको मूलमन्त्र ‘आपसीमाया, स्नेह, शान्ति, सद्भाव, सामाजिक कार्य र मानवता’ हो । यहीँ मन्त्रमा केन्द्रित रहेर समूहले देश तथा विदेशमा पनि विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिइरहेको छ । दाह्री ग्याङ समूहमा हाल १ लाख ५ हजारभन्दा बढी युवाहरू जोडिएका छन् । गालामा दाह्री, काँधमा जिम्मेवारी’, ‘हाम्रो दाह्री दुनियाँलाई किन भारी ?’ जस्ता नारा यस समूहमा प्रख्यात छ ।

‘दारी ग्याङ’का सञ्जालहरू नेपालका विभिन्न जिल्ला तथा कतार, साउदी, दक्षिण कोरिया, दुबई र कुवेतसहित अन्य विभिन्न देशहरूमा विस्तार भइसकेका छन् । यो समूहका सदस्यहरू संगठित रूपमै सामाजिक कार्यमा सहभागी हुन्छन् । दारी ग्याङका अर्का एडमिन प्रदीप गैरेले यस समूहमा सदस्यता लिने सम्बन्धमा ‘दारी ग्याङ’ मा अहिले दाह्री पालेका युवाहरू मात्र होइन, सामाजिक मनोभाव भएका जो कोहीले सहजै सदस्यता पाउने बताए ।

यस समूहको शुभचिन्तकहरुको लागि दाह्री ग्याङ नाम गरेको फेसबुक पेज पनि छ । यस पेजमा दारी ग्याङको सम्पूर्ण कुराहरूको जानकारी पाइन्छ । ‘दारी ग्याङ’ले नेपालमा दाह्री पाल्ने ट्रेण्ड नै विकास गरेको छ, भन्दा दुईमत नहोला । ‘दारी ग्याङ’ले गरेको सामाजिक कार्यहरूको कारण समाजमा सकारात्मक धारणाको विकास भइरहेको धेरैको अनुभव छ ।

‘दारी ग्याङ’ का सदस्यहरूले एकअर्काको दाजुभाइहरू हुन् भन्छन् । ग्रुपमा रहेका सदस्यलाई कुनै समस्या परेको समयमा सबैजना एकजुट हुन्छन् । कुनै विषयमा जानकारी लिनु पर्दा अथवा केही समस्याको समाधान गर्नु पर्दा फेसबुक ग्रुपमा पोस्ट गरिन्छ । ग्रुपमा डाक्टर, ईन्जिनियर, पत्रकार, व्यापारी, शिक्षक, वैज्ञानिक, कलाकार, कृषक, मोबाइल मर्मतकर्तासम्म भएकाले समस्याको समाधान चाँडै हुने गर्दछ । कुनै किसिमको रोजगारका अवसरहरू आएमा समेत ग्रुपमा पोस्ट गरिन्छ र ‘दारी ग्याङ’कै सदस्यलाई सो अवसर प्रदान गरिन्छ ।

दारी ग्याङको पहलमा हालसम्म हजारौँ सामाजिक कार्यहरू भएका छन् र इटहरीमा पानीपुरी बेचेर क्यान्सर पीडितलाई सहयोग गरेर होस् या पथरीका शारीरिक अपाङ्गता भएका विष्णु रसाइलीको निम्ति पक्की घर निर्माण गरिदिएर होस् अथवा दुई लाख पैसा नतिरेका कारण अस्पतालले डिस्चार्ज नदिएको कल्पना रोकालाई घर फर्काएर होस्, दाह्री ग्याङले गरेको सामाजिक कार्यहरूको कारण सबैको प्रिय बनेको छ ।

शिक्षा, स्वास्थ्य, विज्ञान तथा कलाको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको यस समूहले कतारमा भएको नेपाल आइडल सिजन १ र द भोइस अफ नेपाल सिजन १ को फाइनलमा पनि दारी ग्याङ कतारले स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । प्राकृतिक प्रकोपको बेला उद्धारको लागि तयार रहने यस समूहले विज्ञान अभियान र कला अभियानलाई पनि उत्तिकै निरन्तरता दिएको छ ।

यीबाहेक दारी ग्याङले विभिन्न ठाउँमा सरसफाइ, वृक्षारोपण, जेब्राक्रस बनाउने साथै गरिब, असहाय, विपन्नका लागि हुने थुप्रै कार्यक्रमहरू गर्दै आइरहेको छ । देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने कुरा आत्मसात गरेर आफ्नो फुर्सदको समय देश र समाजको लागि दिनुपर्ने बुझाइ यस समूहको रहेको छ । यसैले दाह्री ग्याङमा सामेल हुनेहरूले यी चार मन्त्रहरूलाई आत्मसात गर्नैपर्छ ‘गालामा दाह्री, काँधमा जिम्मेवारी, दिमागमा समझदारी अनि काममा साझेदारी ।’

Loading...