सुत्केरी महिला र शिशुको मृत्युपछि मंगलबार पनि रंगेली अस्पतालमा तनाव

विराटनगर, ६ फागुन । प्रसूति गराउन आएकी महिलाको मृत्यु भएपछि मंगलबार पनि मोरङको रंगेलीस्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ ।

सोमबार प्रसूतिका लागि भर्ना भएकी रंगेली नगरपालिका–९ दोभनाकी २५ वर्षीय रविना सरदार र बच्चाको मृत्यु भएको थियो ।

चिकित्सकको लापरवाहीले आमा र बच्चाको मृत्यु भएको भन्दै सोमबारदेखि नै आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

स्थानीयको प्रदर्शनका कारण मंगलबार पनि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।

सोमबार विहान भर्ना भएकी उनको बिहान करिब १० बजे नर्मल डेलिभरी भएको थियो ।

प्रसूतिमा छोरा मृत जन्मिएको थियो । मृत शिशु जन्मिएको केही समयपछि आमालाई रक्तश्राप भएको थियो ।

रक्तश्रापका कारण समस्या बढेपछि उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज पठाइएको थियो ।

नोबेलमा रविनाको मृत्युपछि आफन्तले शव रंगेली अस्पताल नै लगेर प्रदर्शन गरेका हुन् ।

स्थानीयले विरोध गरेपछि मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधीको रोहबरमा छलफल सुरु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटण्ट डा अशोक ठाकुरले सरदार प्रसूति गराएका थिए ।

Loading...