कोरोनाभाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ, ६ फागुन । कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ ।

उनलाई बचाउन भरपुर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् ।

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ । रासस

Loading...