निर्माण भएको एक महिनामै भत्कियो ‘न्यून लागत प्रविधि’को नमूना कालोपत्रे सडक

विराटनगर, ६ फागुन । एक नम्बर प्रदेश सरकारले ‘न्यून लागत’ प्रविधि प्रयोग गरेर निर्माण गराएको कालोपत्रे सडक एक महिनामै भत्किएको छ । दक्षिण अफ्रिकाको ‘आठ–आठ चेमको’ कम्पनीले विस्तार गरिरहेको ‘न्यून लागत’ प्रविधि प्रयोग गरेर दोब्बर कम खर्चमा मोरङको कटहरी गाउँपालिकास्थित थलाहामा निर्माण गरेको नमूना कालोपत्रे सडक एक महिनामै भत्किएको हो ।

एक नम्बर प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयअन्र्तगतको पूर्वाधार विकास कार्यालयले मोरङको थलाहास्थित नेपाली सेनाको अर्जुनबाण गण जाने १४ सय मिटर सडक नमूना परीक्षणका लागि उपभोक्ता समितिमार्फत ८४ लाख रुपैयाँ खर्चेर निर्माण गराएको थियो ।

निर्माण सम्पन्न भएर गत पुसदेखि नै सञ्चालनमा ल्याइएको उक्त डेढ किलोमिटर सडक कम्पनीका प्राविधिकहरूले सडकको कालोपत्रेको गुणस्तर पनि बलियो र आर्कषक भएकोले ५ वर्षसम्म सजहै टिक्ने दाबी गरेका थिए ।

न्यून लागत प्रविधिको पहिलो नमूना कालोपत्रे सडक एक महिनामै भत्किएपछि एक नम्बर प्रदेश सरकार उक्त प्रविधि प्रयोग गरेर थप सडक निर्माण गर्न हच्किएको छ । नेपालका लागि सस्तो र भरपर्दो हुने भन्दै मुख्यमन्त्री शेरधन राईको निर्देशनअनुसार चालु वर्ष थप २० वटा सडकमा न्यून लागत प्रविधि प्रयोग गराउने योजनामा रहेको मन्त्रालय अब पर्ख र हेरको नीतिमा पुगेको छ ।

मन्त्रालयको सडक तथा यातायात महाशाखा निर्देशक रेवतीरमण पराजुलीले न्यु लागत प्रविधिको सडक एक महिनामै भत्किएपछि त्यसको उचित कारणसहित पुनर्निर्माण गरेर परीक्षण गराउन प्राविधिक कम्पनीलाई आग्रह गरेको बताए ।

भत्कनुको उचित कारण दिन नसकेमा र पुनःपरीक्षण गर्दा पनि सडक भत्किएमा थप सडक विस्तार गर्ने योजना अगाडि बढ्न नसक्ने बताए । निर्देशक पराजुलीले भने, ‘सडक भत्किने अनेक कारणहरू हुन्छन्, यसैले हतारमा प्रविधिलाई असफल भनिहाल्न मिल्दैन तर जस्टिफाइसहितको पुनःपरीक्षणचाहिँ सफल हुनुपर्छ ।’

२५ मंसिरमा नेपालका लागि प्रविधि वितरक कम्पनी अनिक ओभरसिज र प्रविधि विस्तार गरिरहेको दक्षिण अफ्रिकाको कम्पनी ‘एटटीएट चेमको’ले न्यून लागत सडक निर्माण प्रविधिबारे प्रदेश सरकार, स्थानीय तहका प्रमुख र ईन्जिनियरहरूलाई सहभागी गराएर ‘न्यून लागत’ प्रविधिबारे जानकारी गराएको थियो ।

दक्षिण अफ्रिकाबाट आएका उक्त कम्पनीका प्राविधिकहरूले ग्रामिण सडकहरूका लागि न्यून लागत प्रविधि कम खर्चिलो र भरपर्दो हुने बताउँदै प्रयोग गर्न हौस्याएका थिए । अभिमुखिकरणपछि मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘हामी नयाँ टेक्नोलोजी प्रयोगमा ल्याउन सकारात्मक छौँ । चालु वर्ष उपभोक्ताबाट २० वटा सडक नमूनाका रूपमा निर्माण गरेर परीक्षण गर्नेछौँ र सफल भएमा अर्को वर्षदेखि प्रभावकारीता हेरर थप निर्माण गराउने छौँ ।’

कम्पनीको डेमोस्ट्रेसन हेरेर हौसिएका मुख्यमन्त्री राईले प्रविधिबारे ढिलो जानकारी भएकोले चालु वर्ष ठेक्का लगाउने सम्भव नएकोले उपभोक्ता समितिमार्फत ‘न्यून लागत’ प्रविधि मार्फत सडक निर्माण गराउन मन्त्रालयका सचिव र प्राविधिकहरूलाई निर्देशन पनि दिएका थिए ।

एक नम्बर प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव राजेश घिमिरे पनि हाल प्रयोग गरिँदै आएको प्रविधिबाट एक किलोमिटर कालोपत्रे गर्न १ देखि डेढ करोड रुपैयाँ खर्च आउने तर न्यून लागतको प्रविधि प्रयोग गर्दा एक किलोमिटर सडक ५० लाख रुपैयाँमै तयार हुने भएकोले थप सडक निर्माण गराउन हौसिएका थिए ।

निर्माणमा प्रविधि सहयोग गरेको अनिको ओभरिसिजका मेटेरियल ईन्स्पेक्टर सुदन श्रेष्ठका अनुसार निम्न लागतमा छिटो समयमा निर्माण गरिएको सडकको अवधि कम्तीमा ५ वर्ष हुनेगरेको छ । हेभी सवारीहरू धेरै नकुदेमा र मान्छे आफैँले नविगारेमा सडक अझै धेरै वर्ष टिक्नसक्ने बताएका थिए ।

नेपालका लागि आधिकारिक डिलर रहेको कम्पनी अनिको ओभरसिजका टेक्निकल डाइरेक्टर भुवनेश त्रिपाठीका अनुसार न्यून लागत प्रविधि प्रयोग गरेर नेपालको मोरङ, इलाम, पाँचथर, काठमाण्डौ, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाहरूमा करिब एक सय किलोमिटर कालोपत्रे सडक निर्माण भसकेको छ । अनिकोले न्यून लागत प्रविधिको निर्माणका लागि टेक्निकल र प्राविधिक सर्पोट उपलब्ध गराउँदै आएको छ ।

ग्रामिण र भित्री सडकहरूमा ‘न्यून लागत प्रविधि’ प्रभावकारी हुने कम्पनीको दाबी

न्यून लागत प्रविधिमार्फत सडक निर्माण कार्यलाई विस्तार गरिरहेको दक्षिणी अफ्रिकाको निर्माण कम्पनी ‘एटटीएट चेमको’ का चिफ एक्जुकेटिभ अफिसर ‘सेवासतीआन’ का अनुसार हाल साउथ अफ्रिका, कंगो, मंगोलिया, इण्डोनेसिया, मलेसियालगायत धेरै देशहरूले यो प्रविधिलाई अपनाइरहेका छन् ।

धुलो नउड्ने र वातावरणमा कुनै हानी नगर्न कम लागतमा चाँडै निर्माण गर्न सकिने भएकोले न्यून लागत प्रविधि ग्रामिण क्षेत्र र शहर बजारका भित्री सडकहरूका लागि बढी प्रभावकारी हुनेगरेको छ ।

चेमकोका ग्लोबल प्रोजेक्टका प्रमुख ईन्जिनियर ‘डिनो’ का अनुसार न्यून लागत प्रविधिअन्तर्गत सीआरबीबी प्रविधिबाट ग्राभेल बलियो बनाउने, अलकत्रा स्प्रे गर्ने र पोलिमर ओछ्याएर सडकलाई चिल्लो पार्ने काम गरिन्छ । तीन प्रकारका निर्माणमा न्यून लागतअन्तर्गतको विशेष केमिकलहरू प्रयोग गरेर सडकलाई बलियो बनाएर सहज रूपले प्रयोग गर्न सकिन्छ ।

Loading...