महँगो मूल्यमा ‘चपली हाइट ३’को अष्ट्रेलिया राइट्स बिक्री

विराटनगर, ६ फागुन । २८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ ।

सोमबार फिल्मको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलरमा खरिद गर्दै कागजी सम्झौता गरेको छ ।

‘चपली हाइट’ ब्रान्डप्रतिको विश्वासका कारण फिल्मको अष्ट्रेलिया राइट्स महँगो मूल्यमा बिक्री भएसँगै अन्य देशमा पनि फिल्मको माग भइरहेको फिल्मका निर्माता अर्जुन कुमारले बताए ।

केही दिनअघि सार्वजनिक भएको ‘चार आनाको मसला’ बोलको गीतलाई दर्शकले मनपराएका कारण फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ ।

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, दीपाश्री निरौला, विशाल पहारीलगायतका कलाकारहरूको अभिनय छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाले सोझी युवतीको भूमिका निर्वाह गरेकी छिन् भने उनको जोडी महेश त्रिपाठीसँग बाँधिएको छ ।

थ्रिलर र ग्ल्यामर कथामा आधारित भएर नौलो कथामा निर्माण गरिएको फिल्मको छायांकन काठमाडौँ र त्यसको छेउछाउको ठाउँमा गरिएको हो ।

फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ दर्शकको लागि उपहार हुने हुँदा फिल्मको प्रचारसंगै पोस्ट प्रडक्सनको काम सुरु भइसकेको छ ।

Loading...