विराटनगर, ६ फागुन । माइग्रेन जसलाई पनि हुन सक्छ तर, माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखापर्ने गर्छ ।
माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसमा टाउकाको एक भागमा मात्र दुख्ने गर्छ ।
यसको दुखाइ निकै कडा हुने र यो दुई घण्टादेखि कैयौँ दिन वा वर्षसम्म हुन सक्छ ।
पुरुषको तुलनामा महिलाहरूको जीवन तनावपूर्ण हुने र महिनावारीको समस्या तथा हर्मोनको असन्तुलनले कारणले महिलामा माइग्रेन बढी हुने पाइएको छ ।
साथै, गर्मी, घामको तेज किरण, भिडभाड, गलत खानपान, वायु प्रदूषण, डिहाइड्रेशन, सोडा, चिसो पेयपदार्थ, क्याफिनयुक्त पदार्थको सेवनले माइग्रेनलाई बढावा दिने काम गर्छ ।
माइग्रेनले मस्तिष्कको काममा परिवर्तन ल्याउँछ ।
समयमा नासुत्दा, अनिन्द्राको समस्या हुँदा, पुरानो अचार खाँदा, दुखाइ कम गर्ने विभिन्न औषधिको सेवनले पनि माइग्रेनलाई थप बढाउँछ ।
माइग्रेन हुँदा अत्यधिक टाउको दुखाइका साथै कान, आँखा, नाक तथा घाँटी दुख्ने, छिट्टै रिसाउने, निद्रा लागेजस्तो हुने, लगातार हाई आउने, थकाइ लागे जस्तो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, बोल्न मन नलाग्ने, हातखुट्टा दुख्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
असाध्यै टाउको दुखेमा दुखाइ कम गर्ने औषधिको प्रयोग गर्नु हुँदैन ।
यस्ता दुखाइ कम गर्ने औषधिको बढी सेवन गर्नाले टाउको दुखाइ केही समयको लागि कम भए पनि थप बल्झिन सक्छ ।
त्यसैले परीक्षण गराएर डाक्टरको सल्लाहपछि मात्र औषधिको सेवन गर्नुपर्छ ।