एक नम्बर प्रदेशका सात यातायात कार्यालयबाट लाइसेन्स वितरण गरिँदै

विराटनगर, ६ फागुन । लामो लाइनको सास्ती खेपेर वा दलालको फन्दामा परेर सवारी लाइसेन्स बनाउनुपर्ने दिन एक नम्बर प्रदेशमा अब अन्त्य हुने भएको छ । एक नम्बर प्रदेश सरकारले अब मातहतका सातवटै यातायात व्यावस्था कार्यालयहरूबाट सवारी चालक अनुमति पत्र दिने तैयारी थालेपछि सास्ती भोगेर अनि दलालको फन्दामा परेर लाइसेन्स बनाउनुपर्ने दिन अन्त्य हुने भएको हो ।

एक नम्बर प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयअन्र्तगत रहेको यातायात निर्देशनालयले प्रदेशमा रहेका सबै सेवा कार्यालयहरूलाई यातायात व्यवस्था कार्यालयमा स्तरोन्नती गरेर सबै ठाउँबाट लाइसेन्स दिने योजना बनाइरहेको छ ।

निर्देशक भीम गौतमका अनुसार निर्देशिका मन्त्रीपरिषदबाट स्वीकृत भएसँगै प्रदेशमा रहेका सातवटै यातायात व्यावस्था कार्यालयहरूबाट लाइसेन्स वितरण सुरु हुनेछ । निर्देशक गौतमले भने, ‘निर्देशिका धमाधम निर्माण गरिरेहका छौँ, चालु वर्षभित्रै सबै ठाउँबाट वितरण थाल्ने छौँ ।’

एक नम्बर प्रदेशमा सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालबाट मात्रै लाइसेन्स वितरण हुँदै आएको थियो । संघीयता कार्यान्वयनपछि यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको जिम्मामा आएपछि सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको हो ।

प्रदेश सरकारले उदयपुर र धनकुटा र इलाम पनि थप सेवा कार्यालय स्थापना गराएको थियो । त्योभन्दा अघि इटहरी र विराटनगरमा मात्र सेवा कार्यालय थिए । सेवा कार्यालय विस्तार भएपनि लाइसेन्स लिनका लागि अझै हदैसम्म हैरानी खेप्नुपरिरहेको गुनासो बढ्दो पाइएछि प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले इटहरीमा रहेका दुई कार्यालयसहित विराटनगर, गाईघाट, धनकुटा, बिर्तामोड, ईलामबाट पनि सवारी अनुमति पत्र वितरण गराउन लागेको हो ।

‘सवारी लाइसेन्स वितरण प्रक्रियाको ट्रायल परीक्षा आजकल सिसी टिभीबाट प्रत्यक्ष निगरानी गरिन्छ । यसैले ड्राइभिङ स्कुलहरूसँग सहकार्य गरेर सबै कार्यालयहरूबाट लाइसेन्स वितरण गर्दा सेवा अझै प्रभावकारी बन्नेछ’, निर्देशक गौतमले भने ।

हालसम्म एक नम्बर प्रदेशमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट निश्चित समयमा मात्रै सवारी चालक अनुमतिपत्र प्रदान गरिँदै आएको छ । इटहरी र विराटनगरमा भएका पुराना र भर्खरै गाईघाट, धनकुटा र इलाममा स्थापना भएका सेवा कार्यालयहरूले चाहिँ अझै राजश्व लिएर सवारी दर्ता र नवीकरण गराउने काम मात्रै गर्दै आएका छन् ।

एक ठाउँबाट त्यो पनि तोकिएको समयमा मात्र सवारी चालक अनुमति पत्र प्रदान गरिँदा हुने भीडले सवारी चालकहरूले पाउनुसम्म सास्ती पाउने गरेका छन् । साथै सवारी चालक अनुमतिपत्र दिलाउन बिचौलियाहरूको बिगबिगी पनि हुनेगरेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल एक नम्बर प्रदेशमा साना–ठूला सबै खाले ६ लाख सवारी साधन सञ्चालन हुँदै आएका छन् ।

Loading...