विराटनगर, ६ फगुन । लघुवित्तले १८.५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् ।
तर बैंकहरुले ठुला लगानीकर्ताहरुलाई भने ८ देखि १४ प्रतिशत ब्याजमा लगानी गर्ने गरेका छन् ।
नयाँ पत्रिका दैनिकमा छापिएको मुख्य खबरमा त्यसमाथि कर्जा नविकरणको नाममा ब्याजलाई साँवा बनाएर फेरी ब्याज लिने गरेको उल्लेख छ ।
लघुवित्तलाई पुँजी लागतमा ९ प्रतिशतसम्म ब्याज थपेर लिन छुट दिइएको छ ।
सिरहाकी सनेचरी दासले श्रीमानको उपचारको लागि विभिन्न लघुवित्तबाट गरेर ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।
ऋण लिएर उपचार गरेपनि उनको श्रीमन बाचेनन् । यता ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरे ।
झापाको गौरादह ७ ग्वालडुब्बाकी ६० वर्षीया बालकुमारी हुँमागाईंले लघुवित्तले भाँडा फ्यालदिने धम्कि दिएपछि घरमै झुण्डिएर आत्महत्या गरिन् ।
अन्नपूर्ण पोष्ट र नागरिक दैनिकले पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा सफाइ पाएको समाचारलाई मुख्य खबर बनाएर छापेका छन् ।
‘महरा निर्दाेष’ शीर्षकमा अन्नपूर्ण पोष्टमा र ‘महरा निर्दाेष ठहर’ शीर्षकमा नागरिक दैनिकमा खबर छ ।
अन्नपूर्णमा नै चीनबाट फर्किएका सबै सकुशल शीर्षकमा मुख्यपृष्ठमा समाचार छ ।
चीनको हुवेइ प्रान्तबाट फर्काइएकाहरुलाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर राखिएको छ ।
उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको समाचारमा उल्लेख छ ।
‘भारतले महाकाली नदीमा बनाएको पुल हटाइयो’ शीर्षकमा कान्तिपुर दैनिकमा मुुख्य समाचार छ ।
भारतले महाकाली नदीमा काठेपुल बनाएको थियो । काठेपुल नेपाल प्रहरीले हटाएको हो ।
दार्चुलाको व्यास गाउँपालिका १ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।
आइतबार दुम्लिङमा रहेको प्रहरीले काठेपुल हटाएर महाकाली नदीमै बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।