पत्रपत्रिकामा प्रदेश : खोलामा दोब्बर दोहन

विराटनगर, ६ फागुन । मोरङका क्रसर उद्योग र खोलाका ठेकेदारहरुले मापदण्ड विपरीत प्राकृतिक श्रोतको दोहन गर्दा कतिपय बस्तीहरु संकटमा परेका छन् ।

कयौं इनार र चापाकलमा पानी सुकेको छ ।

कान्तिपुर दैनिकमा खोलामा दोब्बर दोहन शीर्षकमा छापिएको खबरमा गछिया खोलामा ठेकेदार र क्रसर उद्योगीले ३ मिटरसम्म उत्खनन गरेको उल्लेख छ । बढीमा डेढ मिटरमात्रै उत्खनन गर्ने सहमति थियो ।

वातावरण प्रभाव मूल्यांकनमा हाते औजार प्रयोग गरेर उत्खनन् गर्ने भने पनि एक्स्काभेटर प्रयोग गरेर गिट्टी र बालुवा निकल्दै आएका छन् ।

अधिकांश क्रसर उद्योग र ठेकेदारलाई जनप्रतिनिधिकै संरक्षण रहेको छ ।

बेलबारीको लोहन्द्रा खोलामा ८ करोड रुपैयाँ ठेक्का लागइएको छ । यसमा पनि चरम दोहन हुँदा पनि नगरपालिकाले नियन्त्रणको प्रयास गरेको छैन् ।

कान्तिपुरको प्रदेश १ पृष्ठमा प्रदेशको नाम तोक्न संसदहरुले माग गरेको खबर र प्रदेश जनसंख्या विधेयकले धेरैतिर काम गर्ने चिकित्सकलाई कारबाही गर्ने समाचार पनि छापेको छ ।

अडिटर प्रवल घिमिरे मृत्यु प्रकरणमा ‘सात जनाविरुद्ध जाहेरी’ शीर्षकमा उद्घोष दैनिकले मुख्य खबर छापेको छ ।

लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्युमा ७ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

मृतकका बाबु कृष्णप्रसाद घिमिरेले ७ जनाविरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङमा हालेका छन् ।

विराटनगर सनिहाटका नन्दु भनिने नन्दकिशोर राठी, सुन व्यापारी अशोक अटल, उर्लाबारीका व्यवसायी अनिल कुमार चाण्डक, सताक्षीधामका विनय कर्ण तथा चालकद्वय पशुपति खड्का र चन्द्रबहादुर दर्जीविरुद्ध जाहेरी परेको प्रहरी श्रोतले बताएको छ ।

मोरङको धनपालथान गाउँपालिकाकी १७ वर्षीया यूवतीलाई प्रेमीले भारत पुर्याएर बेच्न खोजेका छन् ।

प्रेम गर्ने भन्दै फकाएर भारत पुर्याएर बेच्न खोजेको आरोपमा प्रहरीले २२ वर्षीय सञ्जय मण्डललाई खोजी गरिरहेको छ ।

उनका भिनाजु जगतनारायण मण्ढल पक्राउ परेका छन् ।

सञ्जयले भिनाजुसँग मिलेर भारतमा नै विवाह गर्ने बहाना बनाएर ती युवतीलाई भारत पुर्याएका थिए । यो समाचार ब्लाष्ट टाइम्समा छ ।

Loading...