विराटनगर, ५ फागुन । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा उत्पादनहरूमा उपभोक्ताहरुको भिड बढेको छ ।
उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ ।
खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताए ।

मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए ।
चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए ।
आचार्यका अनुसार ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीन टीका विषयमा जानकारी दिनु आवश्यक रहेको बताए ।
धनकुटाबाट ल्याइएको एभोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायी हर्क राईले बताए । उनले प्रदर्शनीका लागि ल्याएको एभोकाडो बिक्री भइसकेको छ ।
माग धेरै भए पनि आफूसँग बिक्रिका लागि थप एभोेकाडो नभएको उनले बताए । मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईका अनुसार अर्गानिक, चिया र तरकारीको बारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको छ ।
एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए ।
यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए ।
मेलामा हालसम्म ५ करोड बढीको कारोबार भइसकको र दैनिक २० हजार बढीले एक्स्पोको अबलोकन गर्दै आएको उनले बताए ।
बालबालिकाका लागि राखिएको मनोरञ्जनका खेलबाट बालबालिकाले मज्जा लिएका छन् ।
जुत्ता र कपडामा बजार भाउभन्दा छुट पाएकाले उभोक्ताको आकर्षण भएको हो । दैनिक कलाकारले साँगीतिक कार्यक्रम गर्दै आएका छन् ।
मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ ।
उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।