सुडान, ५ फागुन । सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम समयसम्म निस्कर्षमा नपुगेपछि लम्बाइएको छ ।
वार्तालाई थप तीन हप्ता लम्ब्याइएको हो ।
सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का नौ विद्रोही समूहको गठबन्धन र खार्तुमका प्रतिनिधिहरूले फेब्रुअरी १५ सम्ममा वार्तालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी दिइएको भएपनि उक्त समयसीमाभित्र वार्तामा टुंगो लाग्न सकेन् ।
वार्तामा केही प्रगति भएको भन्दै जारी राख्न सोमबार दुवै पक्षले एउटा सम्झौतामा हस्ताक्षर गरेको छन् ।
एसआरएफका उपसभापति यासिर अरमानले शान्ति वार्ताका लागि यो नै अन्तिम विस्तार हुने आशा गरिएको बताए ।
दक्षिण सुडानमा गत वर्षको अक्टोबरमा शुरू भएको शान्ति वार्ताले डार्फर, ब्लू नाइल र दक्षिण कोर्डोफानमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको छ ।
विद्रोहीहरूले बर्खास्त राष्ट्रपति ओमर अल बशिरको नेतृत्व कालमा पछाडि पारिएका अल्पसङ्ख्यक समूहहरूले ठूलो लडाई लडेका थिए ।
प्रधानमन्त्री अब्दाल्ला हमदोकको नेतृत्वमा सुडानको सङ्क्रमणकालीन सरकारले यी क्षेत्रहरूमा द्वन्द्वको अन्त्यलाई प्राथमिकता दिएपछि शान्ति सम्झौताका आशाहरू खडा भएका छन् ।
अहिलेसम्म दलहरू युद्धविराम, मानवीय पहुँच, भूमिसम्बन्धी मुद्दाहरू र द्वन्द्वबाट विस्थापितहरूको पुनःस्थापनाका बिषयमा सहमति भइसकेको बताइएको छ ।