विराटनगर, ५ फागुन । सरकारी पूर्ण स्वामित्वको वाणिज्य बैंकमा कतिसम्म चरम लापरवाही हुन्छ भन्ने सोमबारको एक घटनाबाट पुष्टि भएको छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको राजश्व खाता रहेको बैंकको ट्राफिक चौकस्थित कार्यालयलमा राजश्व दाखिला सम्बन्धी काममा लापरवाही, ढिलासुस्ती हुँदा सेवाग्राहीले अनावश्यक तनाव बेहोर्नु परेको छ ।
संसदीय पत्रकार मञ्च प्रदेश नम्बर १ विराटनगरको संस्था दर्ताको लागि प्रदेश सरकारलाई बुझाउनु पर्ने राजश्व वापतको रकम दाखिला गर्न पुग्दा बैंकको लापरवाहीबारे खुलासा भएको हो ।
सोमबार मञ्चका सचिव कुमार लुइँटेल संस्था दर्ता प्रयोजनको लागि राजश्व रकम ५ हजार रुपैयाँ दाखिला गर्न बैंकको ट्राफिक चौक शाखा पुगेका थिए ।
तर, बैंकका कर्मचारीले त्यहाँ भौचर रुजुमात्र गरेर महेन्द्र चौक शाखा पठाएको र राजश्व दाखिला भने रकम नै नबुझी कम्प्युटर इन्ट्री गरेका हुन् ।
लुइँटेलले भने,‘‘राजश्व फाँटको सर हुनुहुन्न महेन्द्र चौक शाखामा जानुहोस भनेपछि म त्यहाँ पुगे । त्यहाँ पनि सर्भर डाउन छ पर्खनुहोस भनियो । एक घन्टा कुरेर टेलरकी कर्मचारीले तपाइँको रकम दाखिला भईसकेको छ । किन फेरि बुझाउन आउनु भएको भन्दा म छक्क परें ।’’
‘‘उताको टेलरबाट यता पठाएको पैसा मेरै हातमा छ । फेरि बैंकले राख्ने भौचरको अर्धकट्टी र ग्राहक अर्धकट्टीको पनि मैसँग छ । बैंकको छाप लागेको छैन । ‘क्यास रिसिभ्ड’ को पनि छाप छैन ? कसरी इन्ट्री भयो ?’’ भन्दै जिज्ञासा राखेको लुइँटेलले सुनाए ।
टेलरकी ती कर्मचारीले उता रुजु गर्ने कर्मचारीबाट गलत भएको भन्दै महेन्द्र चौक शाखाका सहायक प्रबन्धक रमेश भट्टराईले पनि सामाजिक विकास मन्त्रालयको खातामा संसदीय पत्रकार मंचको नाममा रकम दाखिला भएको लुइँटेललाई जानकारी दिएका थिए ।
उनैले ट्रफिक चौक शाखामा टेलिफोन गरेर ‘‘फेरि उतै जान’’ सल्लाह दिएअनुसार लुइँटेल पुनः राजश्व फाँटमा पुगेर रकम दाखिला गर्न पुगेका थिए ।
त्यसपछि मात्र सम्बन्धित फाँटका प्रमुखले छाप लगाएर बैंक अर्धकट्टीको प्रति आफूँसंग राखेर ग्राहक अर्धकट्टी मंचका सचिव लुइँटेललाई दिएका थिए ।
बैंकका कर्मचारीले गरेको लापरवाहीमा उल्टै बैंकका कर्मचारीले ‘‘रकम नै दाखिला नगरी पत्रकार भागेको भौचर नबुझ्नु होला’’ भन्दै सामाजिक विकास मन्त्रालयमा टेलिफोन गरेका थिए ।
कर्मचारीले सामाजिक विकास मन्त्रालयका उपसचिव दिव्यराज कट्टेलसहितका कर्मचारीलाई टेलिफोन गरेका हुन ।
लुइँटेलले जिम्मेवार सरकारी बैंक र उसका कर्मचारीको लापरवाहीका कारण आफूले अनावश्यक तनाव बेहोर्नु परेको गुनासो गरे ।