चितवन, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पार्दै निधिले सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको बताए ।
उपसभापति निधिले भने, ‘हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।’
उनले नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने ।
कांग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न कांग्रेसले नै रोकेको उनले बताए ।
कांग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोहीअनुसारको रहेको उनको भनाइ थियो ।
उपसभापति निधिले सरकारको दुई वर्ष पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बतइए । रासस