१३ विधाको अवार्ड जित्दै ‘गली व्वाई’ले बनायो कीर्तिमान

विराटनगर, ५ फागुन । ६५औं फिल्म फेयर अवार्डमा ‘गली व्वाई’ले १३ विधाको अवार्ड जित्न सफल भएको छ ।

शनिबार सम्पन्न भएको फिल्म फेयरमा १३ विधाको अवार्ड जित्दै बलिउड फिल्म क्षेत्रको १४ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

सिनेमाले यस वर्षको सर्वाधिक अवार्ड जित्ने सिनेमासँगै फिल्म फेयरको इतिहासमा एकै वर्ष सर्वाधिक अवार्ड जित्ने सिनेमामा कीर्तिमान बनाउन सफल भएको छ ।

सन् १९९५ मा रिलिज भएको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र सन् २००२ मा ‘देवदास’ले जितेको १० अवार्डको कीर्तिमानलाई सन् २००५ मा रानी मुखर्जी तथा अमिताभ बच्चन अभिनित ‘ब्ल्याक’ सिनेमाले ११ विधाको अवार्ड जित्दै कीर्तिमान बनाएको थियो ।

१४ वर्षपश्चात सन् २०१९ मा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गली व्वाई’ले उक्त कीर्तिमान तोड्न सफल भएको हो ।

६५औं फिल्म फेयरमा ‘गल्ली व्वाई’ले उत्कृष्ट सिनेमा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट प्रोडक्सन डिजाइन, उत्कृष्ट छायांकन, उत्कृष्ट अभिनेता सपोर्टिंग रोल, उत्कृष्ट अभिनेत्री सपोर्टिंग रोल, उत्कृष्ट सम्बाद, उत्कृष्ट फिल्म पपुलर, उत्कृष्ट म्यूजिक एल्ब्म र उत्कृष्ट गीत रचना गरी १३ विधामा अवार्ड हात पार्न सफल भएको हो ।

Loading...