हजुरबुबाबाट यौन हिंसामा परेकी युवतीको पुनर्स्थापनामा समस्या

फिदिम, ५ फागुन । नातामा हजुरबुबा पर्नेबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई पुनर्स्थापनामा समस्या भएको छ ।

वर्षौंदेखि नातामा हजुरबुबा पर्नेबाट यौन हिंसामा पर्दै आएको खुलेपछि २०७६ पुस तेस्रो साता सदरमुकाम फिदिम ल्याइएकी एक युवतीको पीडकबाट हुने असुरक्षाले गर्दा पुनर्स्थापनामा समस्या भएको हो ।

पीडित युवतीले २७ पुसमा सदरमुकाम आएर आफूमाथि हजुरबुबा नाता पर्नेले डरत्रासमा राखेर १४ वर्षको उमेरदेखि यौन हिंसा गर्ने गरेको भन्दै सीमावर्ती क्षेत्रमा पर्ने याङवरक गाउँपालिका–३ का ५० वर्षीय अमृत योङ्याविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

केही स्थानीयबासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडित महिला पुनस्र्थापनमा समस्या भएपछि अझै महिला सेवा केन्द्रमा बसिरहेकी छन् ।

आफ्नो परिवार आर्थिक रूपले अति कमजोर रहेकोले योङ्याको परिवारमा आश्रित भइ जीविकोपार्जन गर्नुपर्ने बाध्यताले यौन हिंसा सार्वजनिक गर्न नसकेको पीडितले बताएकी छन् ।

पहुँचबाला भएकोले आफूलाई योङ्या र उसको परिवारले गाउँ नजान दवाव दिइरहेको युवतीले बताउँदै आएकी छन् ।

‘कसरी गाउँ गएर बस्दीरहिछे हामी पनि हेर्छौँ भनेर भन्दै हिँड्छन् अरे । म कसरी गाउँ फर्केर बस्न सकौँला ?’, पीडित युवती भन्छिन् ।

पछिल्लो पटक ९ पुसमा योङ्याले युवती एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरेका थिए । तर पीडित युवतीले प्रतिवाद गरेपछि घटना गाउँ समाजमा सार्वजनिक भएको थियो ।

आरोपित योङ्यामाथि अन्य फौजदारी मुद्दासमेत अदालतमा विचाराधीन छ ।

सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी तत्कालीन माओवादीमा आवद्ध भएका थिए ।

विभाजनबाट माओवादीको शक्ति क्षीण हुँदै गएपछि उनी २०६९ सालमा कांग्रेसमा प्रवेश गरेका थिए ।

हाल उनी नेपाली कांग्रेस पाँचथरका आमन्त्रित सदस्य छन् ।

आफूविरुद्ध यौन हिंसा आरोपमा किटानी जाहेरी दर्ता भएको थाहा पाएपछि हजुरबुबा पर्ने योङ्या फरार भएका छन् ।

पीडित युवतीको जाहेरीपछि योङ्याको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताएका छन् ।

Loading...