काठमाडौंमा जन्मिएका दिवेस पोखरेल ‘अमेरिकन आइडल’मा छानिए

विराटनगर, ५ फागुन । काठमाडौँमा जन्मिएका दिवेस पोखरेल ‘अमेरिकन आइडल’मा छनोट भएका छन् ।

उच्च शिक्षाको लागि ६ वर्ष अघि अमेरिका पुगेका दिवेस आइतबार ‘एवीसी’बाट प्रशारण भएको उक्त चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट छनोट भएका हुन् ।

२० वर्षको उमेरमा ‘आर्थर गन’को नामबाट चिनिएका दिवेसले उक्त कार्यक्रममा अंग्रेजी गीत सुनाएका थिए । गितारसहित अडिसनमा पुगेका दिवेसले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरी जजहरूलाई क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ पनि सुनाएका थिए ।

दिवेसको प्रस्तुतिपछि निर्णायकहरूले उनको खुलेर प्रशंसा गरेका छन् ।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई ‘यू आर गोइङ्ग टु हलिउड’ भन्दा दिवेस निकै खुशी भएका थिए ।

अमेरिकन आइडलमा प्रस्तुति दिन पाउनुलाई उनले आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रूपमा लिएका छन् ।

दिवेसले स्टेजमा पुगेर ‘नमस्ते’ गर्दै नेपालको परिचय पनि दिएका छन् ।

दिवसको परिचयमा देखाइएको भिडियोमा नेपालका केही सुन्दर दृष्यहरू पनि देखाइएको छ ।

Loading...