‘मेस्सीले ३८ वर्षको उमेरसम्म खेल्न सक्छन्’

एजेन्सी, ५ फागुन । स्पेनिस क्लब बार्सिलोनाका लिजेन्ड कार्लेस पुयोलले लियोनल मेस्सी ३८ वर्षको उमेरसम्म खेल्न सक्ने बताएका छन् ।

स्पेनिस मिडिया ‘मार्का’सँगको कुराकानीमा ४१ वर्षीय पुयोलले यस्तो बताएका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सी यसै जुन महिनादेखि ३३ वर्षमा प्रवेश गर्दैछन् ।

यस सिजनको ला लिगामा १९ खेलमा १४ गोल र १२ असिस्ट गरेका उनको सन्यासको विषयमा धेरै चर्चा चलिरहेको छ ।

यस्तैमा मेस्सीका पूर्वसहकर्मीसमेत रहेका पुयोलले मेस्सीले ३८ वर्षको उमेरसम्म फुटबल नछोड्ने दाबी गरेका छन् ।

‘मेस्सी ३२ वर्षका छन्,’ पुयोलले भनेका छन्, ‘उनले ३८ वर्षको उमेरसम्म फुटबल खेल्न सक्छन् । मेस्सीविनाको बार्सिलोनाको किन कुरा हुँदैछ, जबकी मेस्सी यहीँ छन् । मेरो विचारमा उनले अझै धेरै गर्न सक्छन् ।’

पछिल्लो समय मेस्सी र बार्सिलोनाका खेल निर्देशक इरिक अबिडालबीचको द्वन्द्वका कारण उनले बार्सिलोना छोड्ने चर्चा छ ।

सर्वाधिक धेरै ६ पटकका बालोन डी‘ओर विजेता मेस्सी लामो रेसका घोडा भएको पुयोलको भनाइ छ ।

‘स्पोर्टिङ डाइरेक्टर र प्रशिक्षकभन्दा मलाई धेरै मेस्सीको विषयमा उत्सुकता लाग्छ’, उनले भने, ‘उनका लागि अझै धेरै प्रतिस्पर्धा बाँकी छ । उनी लामो रेसको घोडा हुन् ।’

Loading...