निर्माणाधीन रंगशालामा छायांकन गरिएको ‘सेन्टी भाइरस’को गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, ५ फागुन । ९ फाल्गुनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक भएको छ ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सुशान्त गौतमको शब्द रहेको गीतमा प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ भने हर्क साउदको सङ्गीत छ ।

सार्वजनिक गरिएको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विल्सनविक्रम राई, कुन्जना घिमिरे, सन्दीप क्षेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राईलगायत फिचर्ड छन् ।

अलिश राईको कोरियोग्राफी रहेको गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा यी कलाकारहरूका साथै सीताराम कट्टेल, दयाहाङ राई, राजाराम पौडेल, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म सामाजिक व्यंग्यमा आधारित रहेको छ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

शैलेन्द्र डि. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्दैछन् ।

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा डिन्डु लामा ह्योल्मो र डिन्डुका भाई फुर्पाको लगानी रहेको छ ।

२ करोड लगानीमा तयार भएको फिल्म ‘सेन्टी भाइरस’को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

Loading...