पत्रपत्रिकामा प्रदेश : गुद्री छाड्न आलटाल, तरकारी तथा फलफुल थोक बजार सञ्चालनमा आएन

विराटनगर ५ फागुन । गत १० पुसमा नै गुद्री छाड्न विराटनगर महानगरपालिकाले समय दिएपनि त्यहाँका व्यापारीले आलटाल गरिरहेका छन् ।

विराटनगर ९ मा रहेको गुद्री बजार सार्न व्यापारीहरुले आनाकानी गरिरहेका हुन् ।

व्यापारीले केही दिन समय मागेको कारण आपसी सहमतिमा महानगरले केही दिन गुद्री बजार हटाउने अभियानलाई स्थगित गरेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृतले व्यापारीले फागुन १५ सम्मको समय मागेकोले त्यसबेलासम्मको लागि महानगर चुप लागेर बसेको बताए । यो खबर उद्घोष दैनिकमा छ ।

त्यसपछि पनि बजार नहटे बल प्रयोग गरेर भएपनि खाली गरिने उनको भनाइ छ ।

महानगरको पूर्वी सीमाना कटहरी १ मा १६ करोड ८८ लाखमा बनेको तरकारी तथा फलफुल थोक बजार भने अझै सञ्चालमा आउन सकेको छैन् ।

झापा आएर विभिन्न विकासको आयोजनाहरु उद्घाटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचारलाई पनि प्रदेश १ बाट प्रकाशन हुने पत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

ब्लाष्ट टाइम्समा ‘भोक- भोकै मर्नु पर्दैन’ शीर्षकमा मुख्य खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा आइतबार आयोजित कार्यक्रममा कोही नागरिक भोकै बस्नु नपर्ने बताएका हुन् ।

मोरङको मधुमल्ला र झापाको दमक जोड्ने मावा खोलामा निर्मित पुलको समेत प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका छन् ।

पुल सञ्चालनमा आएपछि इलाम, पाँचथर, ताप्लेजुङको उत्पादन दमक र विर्तामोड ल्याउन सहज भएको छ ।

अन्नपूर्ण पोष्टमा प्रदेश १ सरकारको प्राथमिकतामा रहेको धरान मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न अझै सुरु नभएको खबर छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्भाव्यता अध्ययन गर्ने गरी सुरुङ मार्ग बनाउन लक्ष्य प्रदेश सरकारले लिएको छ ।

सुरुङ मार्ग बने धरान धनकुटाको दुरी ५२ किलोमिटरबाट घटेर १७ किलोमिटर मात्रै हुने छ ।

कान्तिपुर दैनिकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारी शीर्षकमा प्रदेश १ संसदको समाचार छापेको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश १ बाहिरका व्यक्तिलाई विभिन्न पदमा नियुक्ति दिएको भन्दै विरोध जनाउँदा सत्ता पक्षका सांसदहरु प्रतिवादमा उत्रिएका थिए ।

आइतबारको संसद बैठकमा सांसदहरुको जुहारी चलेको हो ।

Loading...