जापानले कोरोनाबाट बच्नका लागि २ हजार आइफोन बाँड्यो

एजेन्सी, ४ फागुन । जापानका अधिकारीहरूले पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन् ।

फिलिपिनो टाइम्स का अनुसार उक्त क्रूजशिपमा रहेकामध्ये केही मानिसहरूमा कोरोनाका संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई कोरोना भाइरससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो ।

डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रा गरेका ७ सय ७१ जनाको जाँच गर्दा २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

३ हजार ७ सय मानिस रहेको पानी जहाजमा सामूहिक रूपमा २ हजार आइफोन वितरण गरिएको छ ।

यात्रुहरूलाई कुनै पनि खालको समस्या नहोस् र आवश्यक पर्दाको बखत तुरुन्तै सहयोग प्राप्त गर्न सकोस् भन्ने मान्यताका साथ आइफोन बाँडिएको हो ।

यात्रुहरूलाई बाँडिएका आइफोनमा एक विशेष खालको एप इन्स्टल गरिएको छ ।

उक्त एपको सहयोगले यात्रुहरूले स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट तथा समाचारहरू प्राप्त गर्न सक्ने छन् ।

आइफोनमा रहेको एपमार्फत यात्रुहरूले डाक्टरसँग भेटको समय लिने र औषधि अर्डर गर्ने गर्नुका साथै आफूलाई मानसिक तनाव भएको बेला सिधै मानसिक रोग विशेषज्ञ तथा परामर्शकर्तासँग छलफल गर्न सक्छन् ।

Loading...