विराटनगर, ४ फागुन । स्पेसिन क्लब रियल मड्रिडका खेलाडी इडेन हाजार्ड लामो समयपछि मैदान फर्किने भएका छन् ।
उनी आज हुन लागेको सेल्टा भिगोविरुद्धको खेलबाट बेज्लियन स्टार हाजार्ड मैदान फर्किन लागेका हुन् ।

रियलले नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुने खेलमा सेल्टासँग खेल्दैछ ।
यो खेल रियलकै मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । यस खेलका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले हाजार्डलाई टोलीमा राखेका छन् ।
उनी खुट्टाको चोटका कारण लामो समयदेखि मैदानबाहिर थिए ।
उनी च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको खेलका क्रममा घाइते भएका थिए ।
२६ नोभेम्बरमा घाइते भइ मैदानबाहिर रहेका उनलाई जिदानले प्रारम्भिक टोलीमा राखेका छन् ।
जिदानले उनका साथै ग्यारेथ बेल, करिम बेन्जेमा, भिनिसियस जुनियर, टोनी क्रुस, लुका मोड्रिक, इस्को, क्यासेमिरो, मार्सेलो, सर्जियो रामोस जस्ता खेलाडीलाई टोलीमा राखेका छन् ।
हाल रियल ५२ अंकसहित शीर्ष स्थानमा छ । समान अंक भएका बार्सिलोना दोस्रो स्थानमा छ ।
रियलले गोलान्तरको आधारमा शीर्ष स्थान बनाएको हो । सेल्टा भिगो भने २० अंकका साथ १८औं स्थानमा छ ।