विराटनगर, ४ फागुन । प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पुरुष ग्रन्थी विस्तारै बढ्दै जान्छ जसकारण मूत्रनलीमा दबाब हुन गइ मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ ।
सामान्यतः ४० वर्ष पुगेपछि पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्दै जाने हुँदा ६० वर्षको उमेर पुग्दासम्म करिब एकतिहाइमा प्रोस्टेटको समस्या देखापर्न थाल्छ ।
पुरुष ग्रन्थीले उत्पादन गर्ने एक किसिमको तरल पदार्थले शुक्रकिटलाई पोषण प्रदान गर्छ ।
प्रोस्टेट ग्रन्थी सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुने कारण मूत्रथैली बढी संवेदनशील हुने हुँदा पिसाब पटक–पटक तथा अचानक फेर्नुपर्ने अवस्था सुरु हुन्छ ।
प्रोस्टेट ग्रन्थीमा कोषहरूको संख्या वृद्धि भएसँगै प्रोस्टेट ग्रन्थीको आकार तथा तौल पनि वृद्धि हुँदै जान्छ ।
प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध आउनुका साथै मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ ।
५० वर्षमा प्रायः ४० प्रतिशत पुरुषमा मूत्रत्याग गर्ने शिलशिलामा विभिन्न लक्षणहरू अनुभव गर्न थलछन् ।
कोषहरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थी वृद्धि हुनुको मुख्य कारण मानिन्छ ।
पटक–पटक पिसाब आउनु, पिसाबको धार कमजोर हुनु, ढिलो पिसाब आउने हुँदा बल लगाउनुपर्ने हुनु, पिसाब चुहिनु, पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु मूत्रनलीमा पीडा हुनु प्रोस्टेटका लक्षणहरू हुन् ।
यसैगरी प्रोस्टेट हुँदा राति धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु, केही क्षण पनि रोक्न नसक्नु, पिसाब पोल्नु, दुख्नु, पिसाबमा रगत देखिनु, आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउने पनि हुन्छ ।
अवस्था बिग्रिएको खण्डमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुने, पिसाब पूर्ण रूपमा रोकिने र मिर्गाैला फेलर हुन सक्ने हुन सक्छ ।
प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रगत मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन थाल्छन् ।
तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो ।
प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरिक जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रगत तथा पिसाबको परीक्षण र बायोप्सी गरिन्छ ।