जन्मदिनकै दिन आयुष्मानसँग लगनगाँठो कस्दै प्रियंका

विराटनगर, ४ फागुन । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह मिति पक्का भएको छ ।

इन्गेजमेन्ट भएको १८ महिनापछि १५ फागुनमा यी दुई वैवाहिक जीवनमा बाँधिने पक्का भएका हुन् ।

केही दिनयता १७ फागुनमा विवाह हुन आँटेको खबर सार्वजनिक भएको थियो ।

तर, ज्योतिषले विवाहका लागि १५ फागुन शुभ हुने बताएपछि विवाहको मिति दुई दिन अगाडि सारिएको हो । १५ फागुनको दिन प्रियंकाको जन्मदिन पनि हो ।

शुक्रबार प्रेम दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राममा तस्बिर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गरिएको तस्विरमा एक बालकले ‘सेभ द डेट २७।२।२०२०’ लेखिएको खरीपाटी हातमा बोकेका छन् ।

विवाह हुने निश्चित भएको केही दिनअघि प्रियंकाले आफ्ना नजिकका साथीहरूसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन् ।

यस वर्षको असारमा विवाह गर्ने सुरसारमा रहेपनि दुवैतर्फका परिवारको समय नमिलेका कारणले विवाह हुन सकेन ।

सधैँ काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आएपछि काम त सधै नै हुँदोरहेछ भनि फागुणमै बिहे गर्न लागेका प्रियंकाले बताइन् ।

आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका आयुष्मान र प्रियंकाले पारिवारिक सहमतिमा उक्त मिति तय गरेका हुन् ।

विवाहभन्दा अगाडि भैंसेपाटीमा नयाँ घर किनिसकेका प्रियंका र आयुष्मान अहिले घर सेटअपमा व्यस्त छन् ।

विवाहपछि उनीहरु छुट्टै बस्ने तयारीमा छन् । घर सेटअपका सँगसँगै उनीहरू केही दिनयता विवाहको तयारीमा देखिने छन् ।

Loading...