एजेन्सी, ४ फागुन । बार्सिलोनाका स्टार खेलाडी जोर्डी अल्बाले तीन साता मैदानबाहिर रहनुपर्ने भएको छ ।
स्पेसिन मिडिया क्याटालुनिया रेडियोका अनुसार अल्बाले च्याम्पियन्स लिगअन्तर्गत नापोलीविरुद्धको खेल र एल क्लासिको गुमाउनेछन् ।

उनी ला लिगाअन्तर्गत गेटाफेविरुद्धको खेलमा घाइते भएका थिए ।
बार्सिलोनाको मैदान क्याप नोउमा भएको उक्त खेल बार्सिलोनाले २–१ गोलले जितेको थियो ।
सो खेलको २२औं मिनेटमा उनी घाइते भएका थिए ।
उनले चोट बोकेपछि उनको स्थानमा जुनियर फिर्पो मैदान प्रवेश गरेका थिए ।
क्लबका अनुसार अब उनले करिब ३ साता मैदानबाहिर रहनुपर्नेछ ।
जसमा उनले नापोलीविरुद्धको पहिलो लेगेको खेल र रियल मड्रिडविरुद्धको एल क्लासिको गुमाउनेछन् ।
बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा इटालियन क्लब नापोलीसँग खेल्दैछ ।
यो खेल नापोलीकै मैदानमा फेब्रुअरी २५ मा हुनेछ । यस्तै अल्बाले यस सिजनको दोस्रो एल क्लासिको पनि गुमाउने छन् ।
रियल मड्रिडविरुद्धको खेल १ मार्चमा रियलकै मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।
त्यसअघि बार्सिलोनाले ला लिगअन्तर्गत इएबारसँग खेल्नेछ । यो खेल २२ फेब्रुअरीमा बार्सिलोनाको मैदानमा हुनेछ ।