विराटनगर, ४ फागुन । गठन भएको २ वर्ष पुगेको अवसरमा शनिबार मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयता कार्यान्वयनमै दुई वर्ष केन्द्रीत भएको बताए ।
उनले सरकार गठन हुँदा घोषणा गरिएका १ सय दिने कार्यक्रमको कार्यान्वयन र अन्य योजनाबारे भने कुनै चर्चा गरेनन् ।
उद्घोष दैनिकमा छापिएको खबरमा मुख्यमन्त्री राईले दुई वर्षमा २७ किमि सडक कालोपत्रे भएको बताएका छन् ।
कान्तिपुर दैनिकमा चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण सीमा क्षेत्र किमाथांका बासिन्दा त्रसित भएको खबर छ ।
सीमा क्षेत्रमा सतर्कता अपनाउन र सम्भवित संकटलाई ध्यान दिएर सरकारी निकायले स्वास्थ्यकर्मी पठाउन सकेको छैन् ।
कसैलाई सम्भवित लक्षण देखिएको थाहा भएमा जिल्लामा सम्पर्क गर्नू भन्दै ढुक्कसँग स्वास्थ्य कार्यालय बसेको छ ।
अहिले त्यस क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुनै निर्णय नभएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले बताए ।
किमाथांका स्वास्थ्य चौकीमा कति औषधिसमेत अपुग रहेको अहेब छेचावा भोटेले बताए । चीनले नाकामा सेना राखेर नेपालीलाई समेत प्रवेशमा रोक लगाएको छ ।
कान्तिपुरमै ‘जथाभाबी निर्माणले पर्यटकीय क्षेत्र कुरुप’ शीर्षकमा खबर छ । संघीयता कार्यान्वयनमा आएपछि तीन तहकै सरकारले पूर्वाधार विकासमा बजेट खर्च गरिरहेका छन् ।
इलामको अन्तुडाँडामा अहिले वातावरणिय र प्राकृतिक पक्षलाई ध्यान नै नदिइ कंक्रिटका ठुला ठुला घरहरु बनाइएका छन् ।
कन्याम, इलाम बजार, सन्दकपुर लगायतका क्षेत्रमा भएका विकास निर्माणले प्राकृतिक सौन्दर्यता नै छोपेको छ ।
नगरिक पूर्वेलीमा ‘सकियो कोशीटप्पु महोत्सव’ शीर्षकमा खबर छ ।
प्रचार प्रचार अभावमा ओझेलमा परेको कोशीटप्पुमा पहिलो पटक महोत्सव हुँदा आशा गरे अनुसार पर्यटक पुगेका छन् ।
कोशी टप्पुमा संघीय सरकार र प्रदेश सरकारले पनि विशेष योजना ल्याउन आवश्यक रहेको छ ।
चरा र अर्नाप्रति मोहित हुने आन्तरिक तथा बाह्य पर्यटक गरी १ लाख भित्र्याउने लक्ष्य महोत्सवको थियो ।