विराटनगर, ३ फागुन । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण, आरोहण कविता यात्राको चौथो अंकमा कवि मोमिला जोशीले कविता वाचन गरेकी छिन् ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि मोमिलाले दर्जन बढी कविता वाचन गरिन् ।
कवि मोमिलाले नारी संवेदना, प्रेम, दर्शन आदी विषयमा लेखेका दर्जन बढि कविता प्रस्तुत गर्नुभयो ।
कवि मोमिलाको कविता सुन्न विराटनगरसहित काठमाडौं, धरान, इटहरीका साहित्यकार, विद्यार्थी, वुद्धिजिवीलगायत पुगेका थिए ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहण, आरोहण कविता यात्रामा यसअघि आयामेली कवि बैरागी काइँला, वरिष्ठ कवि तुलसी दिवस र बम देवानले प्रस्तुती दिएका छन् ।
अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए ।
कविता सुनाइसकेपछि कवि मोमिलालाई आयोजकका तर्फबाट आरोहणका अध्यक्ष भैरव क्षेत्री र प्राध्यापक डा.सन्देशदास श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
नयाँ पुस्तालाई पुरानो पुस्तासँग परिचित गराउँदै कविताप्रति पाठकको आकर्षण बढाउन एकल कविता वाचन सुरु गरिएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले विश्वास व्यक्त गरे ।