काठमाडौं, ३ फागुन । बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ एकसाता लामो नेपाल भ्रमणमा आएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरे ।
नेपाल र बेलायतबीच पुरानो, घनिष्ट सम्बन्ध रही आएको छ । नेपालको लोकतन्त्र र आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको छ ।
नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेट गर्ने छन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्ने छन् ।
बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्ने छन् ।
उनले पोखराको पनि भ्रमण गर्नुहुने बताइएको छ ।
नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ ।
हालसम्म ठूलो सङ्ख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन् ।
विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन् ।
यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो ।
बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइ पर्दै आएको छ ।
बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ ।
बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ ।
सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ ।
हाल तीन हजार ५०० को सङ्ख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् ।
बेलायतले कम्तीमा वार्षिक रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ ।