जनकपुरधाम, ३ फागुन । प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई आफ्नै कार्यकर्ताले कालोमोसो दल्न खोजेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले मन्त्री साहलाई कालोमोसो लगाउन खोजेका हुन् ।
प्रदेशका समाजिक विकास मन्त्री साहलाई शनिबार बिहान जनकपुरधाममा एक कार्यक्रममा जाने क्रममा कार्यकर्ताले घरेर कालोमोसो लगाउने प्रयास गरेका थिए । मोसो दल्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्त्रीलाई घेर्ने झन्डै एक दर्जनलाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
हिजो (शुक्रबार) राजपा नेपालका धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झाले मन्त्री साहलाई भेटेर काम कारबाहीका विषयमा अनन्तुष्टि व्यक्त गर्दा झालाई तपाईको औकात के भनेर सोधेका थिए ।
झाले सामाजिक सञ्जालमा जनकपुरको कुनै कार्यक्रममा सहभागी हुन चुनौति दिँदै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।