पर्यटन प्रर्वद्धन गर्न महोत्सव

झापा, ३ फागुन । पर्यटन प्रर्वद्धन, नेपाली खानालाई प्रोत्साहन र स्थानीय क्षेत्रमै उत्पादित कृषि उपजको प्रदर्शनी गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा बृहत अर्जुनधारा नगर महोत्सव हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ४ देखि १५ फागुनसम्म महोत्सव हुने भएको हो ।

महोत्सव अवधिभर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र शहीदपार्क, अर्जुनधारा जलेश्वरधाम, सहकाले झरना आदिको भ्रमण गराइने नगरप्रमुख हरिकुमार रानाले बताए ।

नगरका ११ वडामा गोबरजाँच, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखीकरण, बाली उपचार, कृषि प्रविधिसम्बन्धी ब्रोसर वितरण, माटो परीक्षणलगायत नगरका योजना विषयमा जानकारी गराइनेछ । महोत्सवलाई नगरपालिकाले रु २२ लाख बजेट विनियोजन गरेको छ ।

‘सात दिनमा सात प्रदेश’को मूल नारासहित मेचीनगर नगरपालिका वडा ४ को बाहुनडाँगी बजारमा बाहुनडाँगी सङ्गीत तथा पर्यटन महोत्सव आयोजना गरिनेछ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवमा विभिन्न जातीय परिकार, संस्कृति तथा पर्यटन, व्यावसायिक, जनचेतनामूलकलगायत ४० कक्ष रहनेछन् । महोत्सवमा करीब रु २७ लाख खर्च पूर्वानुमान गरिएको छ ।

Loading...