birat ribon

कम्पोष्ट मल उद्योगको परीक्षण उत्पादन सुरु

Neuro
कम्पोष्ट मल उद्योगको परीक्षण उत्पादन सुरु

खोटाङ, ३ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन सुरु भएको छ ।

Padelux insider
cura insider

पन्ध्र वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योगबाट शुक्रबारदेखि परीक्षण उत्पादन शुरु भएको हो ।

नेपाल सरकारको विशेष अनुदानबापतको ३ करोड ३२ लाख रुपैयाँ लगानीमा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

“आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण प्राङ्गारिक बनाउने उद्देश्यका साथ कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो”, उनले भने, “दिक्तेल बजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल तथा मानव मलमूत्रलाई प्रयोग गरेर बायोग्याँससमेत उत्पादन गरिनेछ ।”

उद्योगबाट उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रुपमा प्रयोग गर्ने योजनाका साथ उद्योग स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले बताए ।

“उद्योगले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै प्राङ्गारिक नगर बनाउन टेवा पुग्नेछ”, उनले भने, “उद्योगबाट उत्पादित मल र ग्याँसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

परीक्षण उत्पादन सफल भएको कम्पोष्ट मल तथा बायोग्याँस उद्योग केही दिनपछि औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा कम्पोष्ट मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् ।

उद्योगमा स्थानीय चार युवाले पूर्णकालीनरुपमा प्रत्यक्ष तथा २५ जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

उद्योगबाट उत्पादित कम्पोष्ट मल नगरपालिकाबाहेक जिल्ला अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाको थुप्रै वडा यसअघि नै प्राङ्गारिक वडा भइसकेका छन् ।

नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरुपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।

कम्पोष्ट मलको विकल्प बिना पूर्णरुपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

jackson ribon