राजन सिलवाल
कवि गोष्ठी सम्पन्न भइसकेपछि सहभागीहरूको ध्यान खाजातिर भएको बुझिन्थ्यो । नयाँ लेखकहरू पुरानासँग तस्वीर खिचाउन मरिहत्ते गरिरहेका थिए ।
तस्वीर खिचेर छरिँदै गरेको हुल छोप्नमा आतुर थिई ऊ । केही वरिष्ठहरूलाई उसले आफ्नो पुस्तक चढाई ।
अवरिष्ठहरूलाई ऊ भनिरहेकी थिई, “मेरो एउटा किताब लिइदिनु न है ?” सम्मुखको मानिस नाइँ भनूँ वा हस् भनूँको अवस्थामा हुन्थ्यो ।
उसले भनी, “मूल्य त ३५० हो, दुई सय मात्र दिनुस् ।” आवाजमा सहुलियतको कृपा झल्कन्थ्यो । उसले किताब बेचिरहेकी छ भनेर अलि परबाट देखिरहेकाहरू हतार हतार खाजाको हुलमा हराउँथे ।
म खाजे हुल घटोस् भनेर एकाछेउमा उभिरहेको थिएँ । उसँग खास हिमचिम नि होइन, अपरिचय नि होइन । मतिर आई र थोरै मुस्कान छम्की । भनी, “सर नि एउटा लिइदिनुस् न ल ?”
मैले उसको झोलामा छ सात वर्ष अगाडि निकालेको गजलसंग्रह पनि आसीन देखेँ । त्यो पनि किनाउली कि भनेर म सतर्क थिएँ ।
वालेटबाट हतपत दुई सय रुपैयाँ निकालेर उसको हातमा राखिदिएँ । “एकछिनहै” भनेर उसले मैले खरिदगरेको किताबमा केही लेख्न थाली।किताबमेरोहातमादिएरऊखाजेहरूभएतिरगई।
के लेखिछ भनेर मैले पाना पल्टाएँ । लेखिएको थियो, “सप्रेम उपहार ।”
त्यसपछि म उसको प्रेम खोज्दै खाजा हुलतिर गएँ । मुखमा समोसा टोक्दै ऊ फेरि मतिर आई ।
भनी, “सरका मुक्तकहरूको त म सबैभन्दा ठुली फ्यान हुँ ।”
मैले कृतज्ञता वश छातीमा हात राखेँ। मेरो नजिक सरेर उसले भनी, “अघि मैले हजुरलाई गजलसंग्रह त दिनै बिर्सेछु ।”
उसले झोलाबाट गजलको किताब निकाली ।
मैले भनेँ, “अघिकै प्रेम र उपहारले कृतज्ञ भइसकेँ । अर्को गोष्ठीमा फेरि प्रेम गरुँला नि हुन्न ?”
हिमालयटोल, ललितपुर