कास्की, ३ फागुन । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ ।
वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी १लाख ४२ हजार मेट्रिक टन ढुुङ्गा, माटो बालुवासहितको गेग्रान बगेर तालमा मिसिदा ताल पुरिने खतरा बढेपछि त्यसको रोकथामका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विभिन्न ४ वटा खोलामा सिल्टेसन पोखरीसहितको चेक ड्याम निर्माण सुरु गरेको हो ।
रामसार सूचीमा समेत सूचीकृत फेवातालको क्षेत्रफल वर्षेनी मानवीय तथा प्राकृतिक कारणबाट खुम्चिँदै गएको छ ।
२०१८ मा तालको क्षेत्रफल २२ हजार रोपनी रहेकामा २०६४ मा आएर ९ हजार ९ सय ५५ रोपनीमा सीमित थियो । पछिल्लो प्रतिवेदनमा वर्षेनी ८.७ हेक्टरका दरले ताल खुम्चिँदै गएको छ ।
फेवा अतिक्रमणप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चासो र चिन्ता व्यक्त हुँदै आएको छ ।
सर्वोच्च अदालतले तालको क्षेत्रफल यकिन गरी सीमाङ्कनका लागि सरकारलाई आदेश गरेको छ ।
चेकड्यामका माध्यमबाट संरक्षणमा लागेको अवस्थामा पोखरा महानगरपालिका–२३ हर्पनमा निर्माणाधीन ड्याम र पोखरीबाट वर्खायाममा बस्ती डुबानमा पर्ने खतरा देखिएको भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।
प्रदेश सरकार र महानगरको २८ करोड ९६ लाख लागतमा फेवातालको मुहान रहेका चारवटा खोलामा गत पुसदेखि ‘सिल्टेसन ड्याम’ निर्माण सुरु गरिएको थियो ।
वेतयानी खोला, लौरुक, खहरेखोला र हर्पनखोलामा ड्याम निर्माण गर्नका लागि अहिले धमाधम काम भइरहेको छ ।
तर स्थानीय भने ड्यामका कारणले वर्खामा खोला बस्तीभित्र पसेर आफूहरुको उठीबास हुने हो कि भन्ने चिन्तामा छन् ।
उनीहरुले तालको संरक्षण गरिरहँदा आफूहरुलाई मर्कामा नपार्न र सुरक्षित बसोबासको प्रबन्धका लागि सरकारसँग माग गरेका छन् ।
फेवाको मुख्य मुहान हर्पनखोला किनार वाम्दी नयाँ बस्तीका राजकुमार विकले खोलामा निर्माण ड्यामले बर्खामा आफूहरु विस्थापित हुनुपर्ने चिन्ता रहेको बताए ।
३० भदौमा आएको बाढीका कारण आफूहरु केही हप्ता घर छाडेर आफन्त तथा जङ्गलमा आश्रय लिन बाध्य भएको सुनाउँदै उनले चेक ड्याम निर्माणबाट नदी सिधै बस्तीमा प्रवेश गर्ने बताए ।
फेवा संरक्षणका लागि खहरे खोलामा सिल्ट्रेन पोखरी निर्माण गर्दा गुणस्तरलाई ख्याल नगरिएको स्थानीय बताउँछन् ।
आवश्यक परिणामअनुसार बालुवा तथा सिमेन्ट प्रयोग नगरिएकाले वर्षायाममा सो ड्यामले भार बहन गर्न नसक्ने बताइन्छ ।
सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले निर्माण कार्यको गुणस्तरका बारेमा पटक पटक गुनासो आएकाले महानगरमा जानकारी गराइएको बताए ।