पत्रपत्रिकामा देश : सरकारको दुई वर्ष, ओर्लंदो ओज

विराटनगर, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका छन् ।

सरकार हाँकेको दूई वर्ष पुगिसक्यो, तर पनि पार्टीकै प्रभावशाली नेताहरु सरकारले गरेको कामको प्रशंसा गर्दैनन् ।

बेचैनीमा रहेका ओलीले कहिले डिनरको आयोजना गर्ने, कहिले सारंगी रेट्ने गरेको स्थायी कमिटीका सदस्यले बताएको कान्तिपुर दैनिकमा खबर छ ।

मन्त्रिपरिषदको बैठक र आफू उपस्थित सरकारी निकायका प्रत्येकजसो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र कर्मचारीलाई हप्किदप्की गरेको खबर बेला बेलामा बाहिरिने गरेको छ ।

तर उनले भनेकै बेलामा काम भने सकिने गरेको छैन् ।

नयाँ पत्रिका दैनिकमा पनि ‘आक्रमक योजना, फितलो कार्यान्वयन’ शीर्षकमा मुख्य खबर छ । प्रधानमन्त्री मातहत लगिएका विभाग भने सक्रिय रहेको समाचार छ ।

प्रधानमन्त्री भएको दुई सातामै मातहतमा लगेका तीन महत्वपूर्ण विभागहरु सक्रिय छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई आफू मातहत राखेका छन् ।

यी तीनै विभाग अपेक्षाकृत नभएपनि सक्रिय रहेका छन् ।

ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा सुशासनका टुल्सहरु भने बन्द हुन थालेको छ ।

सरकारी कारोबारको बिल सार्वजनिक गर्न सरकारले बन्द गरेको छ । मन्त्रिपरिषद कार्यालयको दराजमा सदाचार नीति थन्किएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सदाचार नीतिको मस्यौदा तयार गरेका थिए ।

तर अहिलेको सरकारले त्यसलाई अघि बढाएको छैन् । मन्त्रीको सम्पत्ति पनि सार्वजनिक गर्न छाडिएको छ ।

सतर्कता केन्द्रलाई कर्मचारी थन्क्याउने डस्टबिन जत्तिकै बनाइएको छ ।


नागरिक दैनिकमा प्रदेश सरकारको दुई वर्ष अलमलमै बितेको खबर मुख्य बनाएर छापेको छ ।

प्रदेश १ को सरकारले राम्रा कार्यक्रमको घोषणा गरेको भएपनि कार्यान्वयन पक्ष भने फितलो रहेको छ ।

Loading...