विराटनगर, ३ फागुन । रोजगारीको लागि पुर्याउने भन्दै फिलिपिन्स पुर्याएर भोकै बस्न बाध्य बनाएको मोरङको केराबारी ६ का यामबहादुर राईले बताएका छन् ।
फिलिपिन्सकी महिला विवाह गरेर बसेका जीवन पुनले मकाउ पुर्याउने भन्दै फिलिपिन्स बोलाएका थिए ।
उनले मकाउ जाने भन्दै धनकुटाका सुरज राई ७ लाख रुपैयाँ दिएका थिए । यो समाचार आजको ब्लाष्ट टाइम्समा छापिएको छ ।
यामबहादुर राई जस्तै अन्य दुई जनालाई पनि सुरजले ठगेका छन् ।
पाँचथर घर भइ झापा बस्दै आएका अरुण लिम्बु यस्तै पाँचथरको फिदिमका मनकुमार लिम्बुलाई समेत जापान पठाउने भन्दै सुरजले २ लाख ७२ हजार रुपैयाँ लिएका छन् ।
पीडितहरुले सुरजविरुद्ध विभिन्न निकायमा उजुरी दिएका थिए ।
उनलाई गत मंगलबार झापाको सीमाक्षेत्र गौरीगञ्जमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाइएको छ ।
उद्घोष दैनिकमा ‘साझा एजेण्डा बनाएर आउनुहोस्’ शीर्षकमा मुख्य खबर छ ।
शुक्रबारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटनमा अर्थमन्त्र डा. युवराज खतिवडाले उद्योगीको समस्या समाधान गर्न सरकार सधै तयार रहेको बताएका छन् ।
उनले एक भएर साझा एजेण्डा बनाएर आउन समेत आग्रह गरे । फरक फरक धारणाका साथ समस्या लिएर आउँदा सरकार अलमलमा पर्ने गरेको उनले बताए ।
उनले सीमापारीको पूर्वाधार समस्या समस्या समाधान गर्न पनि सरकारले काम गरिरहेको बताए ।
कान्तिपुर दैनिकमा ‘कर्मचारी सरुवाले पालिकाहरु समस्यामा’ शीर्षकमा समाचार छ ।
१० फागुनमा गाउँसभा गर्ने तयारी गरिरहेको मोरङको मिक्लाजुङ गाउँपालिकाले एकाएक सभा सार्ने निर्णय गर्याे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकासँग समन्वय नै नगरी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेपछि सभा सार्नु परेको हो ।
गाउँपालिका प्रमुख देवी आचार्यले तत्कालीन अधिकृत प्रमोदकुमार सिंहले सभाको तयारी गरिरहेको बेला सरुवा भएपछि सभा सार्नु परेको बताए ।
मिक्लाजुङमा अढाई वर्षमा ६ जना अधिकृत फेरिएका छन् । विराटनगर महानगरमा पनि यही अवधिमा पाँच पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
समन्वयन नै नगरी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा कामकाज नै ठप्प हुने गरेको विराटनगरका मेयर भीम पराजुलीले बताए ।