भोजपुर, २ फागुन । भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवाग्राहीलाई समस्या भएको छ ।
नगरप्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, लेखाप्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चारजना वडाध्यक्ष, प्राविधिक, कम्प्युटर अपरेटर गरी १७ जनाको टोली भ्रमण हिडेँपछि दैनिक कामकाजमा समस्या भएको हो ।
तर भ्रमणका विषयमा कुनैपनि निर्णय नभएको वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । नगर कार्यपालिकाको बैठकमा भ्रमणका विषयमा कुनै पनि निर्णय भन्दै उनले यो विषयमा जानकारी नभएको बताए ।
जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या धेरै नै रहेको उनले बताए ।
गत आइतबारदेखि भ्रमणमा गएको भए पनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका एक कर्मचारीले बताए ।
कार्यालयमा सेवा लिनका लागि आएका आङपासाङ शेर्पाले भने,“जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको लापरवाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारीलाई समेत थाहा छैन, यस्तो पनि हुन्छ ?”
्कार्यालयका अधिकांश शाखा कर्मचारीविहीन छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोवार भने ठप्प रहेको छ ।
इन्जिनीयर अरुण हमालले भने, “मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकाले काम गरिरहेको छु तर लिखित रुपमा प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छैन ।”
नगरप्रमुख, प्रशाकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारीबाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीले बताए ।
उनीहरुले कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको बताए ।
कार्यालयका कर्मचारी शुक्रबहादुर राईले भने, “कति दिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरू कुरा मलाई केही थाहा छैन ।”