प्रदेश २ मा प्रदेश बस सेवा सुरु हुने

जनकपुरधाम, २ फागुन । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षमै प्रादेशिक बस सेवा सञ्चालन गर्ने भएको छ ।

जनकपुरदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुर, राजविराजसम्म परिवहन सेवा (बस) सञ्चालन गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनालले प्रादेशिक परिवहन सेवा सञ्चालनका लागि पाँचवटा बसको बोलपत्र भइसकेको बताए ।

‘‘प्रदेशको सबै कुनालाई प्रदेश एवं देश विकासको मूलधारमा ल्याउने उद्देश्यले आव २०७७ देखि २०९१ सम्मका लागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाको अवधारणा एवम् मस्यौदा पनि तयार गरिएको उनले बताए ।

प्रदेशका लागि प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका तयार गरिएको प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाअन्तर्गत प्रदेशभित्र तीन हजार ३९२ किलोमिटर सडक निर्माण हुने अवधारणा एवं मस्यौदा तयार गरिएको छ ।

प्रदेश लोकमार्गअन्तर्गत सङ्घीय सरकारको रणनीतिक सडक सञ्जालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोडने सडक रहेको छ ।

मन्त्री सोनालले अवधारणाअनुरूप गुरुयोजनाका लागि कूल अनुमानित ९७ अर्ब ४१ करोड लगानीको आवश्यकता पर्ने बताए ।

गुरुयोजनाअन्तर्गत योजना अवधिमा ३ हजार ३९२ किलोमिटर सडकमा २ सय १६ वटा पुलको आवश्यकता पर्ने छ । यसका लागि १० अरब ५३ करोड लागतको अनुमान गरिएको छ ।

Loading...