सुरु भयो विराट एक्स्पो

अर्थमन्त्री भन्छन्– उद्योगीले सरकारलाई अल्मल्याए

विराटनगर, २ फागुन । शुक्रबारबाट विराट एक्स्पाे २०७६ सुरु भएको छ । संघिय सरकारका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरेपछि एक्स्पो सुरु भएको हो ।

विराटनगर–२ को शंकरपुर मार्ग,(विराट नर्सिङ होम पूर्व) सुरु भएको एक्स्पो १० फागुनसम्म चल्नेछ ।

एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले उद्योगीहरुले सरकारलाई अल्मल्याउने काम गरेको बताएका छन् । निजि क्षेत्र नै उद्योगी, बैकर, निर्माण व्यवसायी, व्यापारी भएर सरकारलाई अल्मल्याउने काम गरेको बताएका हुन् ।

मन्त्री खतिवडाले एक्स्पो उद्योगीहरुको लागी आफ्नो उत्पादन प्रदर्शन गर्ने र नयाँ अवसरको खोजी गर्ने माध्ययम भएको बताए । उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान खरिद गरेर जिवनयापन सहज बनाउने थलो भएको उनले बताए ।

९ दिनसम्म चल्ने मेलाको उद्घाटनमा उद्योग तथा बाणीज्य राज्यमन्त्री मोती दुगड्ले उद्योगीहरुको काम समयमा नहुँदा अलमलमा पर्ने गरेको बताए । परिपक्व सरकार भएको अवस्थामा पनि उद्योगी व्यवपारीहरु हतोत्साहित हुन आवश्यक नभएको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीेले प्रदेशको विकासमा निजी क्षेत्र सँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिस कुसियतले उत्पादकबीच स्वस्थ्य प्रतिप्रधाको खाँचौ औल्याएका थिए । यस्ता प्रदर्शनीले स्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उनको भनाई छ ।

उद्योग बाणीज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र निराश भएको बताए । सरकारले ल्याउने निति कै कारण निजी क्षेत्रलाई कर भारी थोपरिएको उनको गुनासो छ ।

संघिय सांसद अमनलाल मोदी र नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत आर्याले अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थलको अभाव हुँदा निजी क्षेत्रले समस्या भोगीरहेको बताए ।

एक्स्पो उद्घाटनका क्रममा एक्स्पो संयोजक भोलेश्वर दुलाल र स्टलका व्यवस्थापक विपिन कावरालाई सम्मान गरिएको थियो ।

एक्स्पोमा ३४० स्टल

विराट एक्स्पोमा ३ सय ४० वटा स्टल राखिएका छन् । एक्स्पाेमा स्थानीय उत्पादन, कृषि उपज, बैंक तथा वित्तिय संस्थाका स्टल र विभिन्न देशका गारमेण्टका उत्पादनहरु, बालबालिकाहरुका लागि मनोरञ्जनका स्टल राखिएको छ ।

हस्तकला, सूचना प्रविधि लगायतका स्टलहरु पनि छन् । मेलामा हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारीसमेत राखिएको छ ।

रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रर्वद्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारी एक्स्पोमा छ ।

त्यस्तै प्रदर्शनीमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, वरमझियाको पेडा, सुपारीको टपरी, ईलामको ललिपप, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया, किवि, तेह्रथुम र संखुवासभाको अल्लो पनि राखिएको छ ।

हात्ती र पञ्चेबाजाले अर्थमन्त्रीको स्वागत

एक्स्पो उद्घाटनका क्रमममा सहभागि हुन आएका अर्थमन्त्री डाक्टर खतिवडालाई हात्ती र पञ्चेबाजाले स्वागत गरिएको थियो । कोशी टप्पुबाट ल्याइएका दुईवटा हात्तीले प्रवेश द्धारबाट अर्थमन्त्रीलाई स्वागत गरेका थिए ।

Loading...