विराटनगरमा तीन वटा मल्टिप्लेक्स, बढ्दैछन् दर्शक

फिल्म हेर्न भारतबाट पनि आउँछन् पाहुना

शिवहाङ राई
विराटनगर, २ फागुन । विराटनगर–१३ का सुमन खड्का कक्षा १२ मा पढ्छन् । फुर्सदका समयमा फिल्म हेर्न रुचाउने उनी आजकाल घर बसेर मोबाइलबाटै सिनेमा हलमा आफूले मन परेको सिट बुकिङ्ग गर्छन् । मार्बल सुपरहिरोका कुनै पनि फिल्म नछुटाउने उनी विराटनगरमा नै उच्च गुणस्तरका फिल्म हलहरूमा फिल्म हेर्न पाउँदा दङ्ग छन् ।

विराटनगर–७ की माया वान्तावा राई सिनेमा पारखी हुन् । बलिउड अभिनेता सलमान खान र नेपाली अभिनेता अनमोल के.सी उनलाई औधि मनपर्ने कलाकार हुन् । राईसँग विराटनगरको पुरानो सिनेमा हल हिमालय टाकिज, विराटनगरकै पहिलो मल्टिप्लेक्स हल सिटी सिनेमा हुँदै विराटनगरकै पहिलो क्युएफएक्स हलमा फिल्म हेरेको अनुभव छ ।

अहिलेको समयमा मानिसहरू निकै नै व्यस्त हुन्छन् । आफ्नो व्यस्त दैनिकीका कारण फुर्सद हुना साथ मानिसहरू भेटघाट, रमाइलो र मनोरञ्जन गर्न रुचाउँछन् । फुर्सदका बेला गरिने मनोरञ्जनका अनेकौं माध्यमहरूमध्ये फिल्म हेर्ने पनि एक हो ।

आफूले मन पराएको कलाकारको फिल्म रिलिज हुनासाथ मानिसहरू सकेसम्म पहिलो शो नै हेर्न रुचाउँछन् । कोही साथीभाइहरूसँग भेटघाट गर्दै रमाइलो गर्न फिल्म हेर्ने गर्छन् । चाडवाडको बेला स–परिवारमा नै फिल्म हलमा फिल्म हेर्न जाने चलन पनि छ ।

तीन वर्षअघिसम्म थोत्रा, हल्लिने र भाँचिएको सिट, गन्हाँउने र फोहोर फिल्म हलमा फिल्म हेर्नुपर्ने विराटनगरवासीको बाध्यता थियो । अलि नामी हिरो, हिरोइनको फिल्म चल्दा घण्टौं लाइनमा बसेर टिकट काट्न बस्नुपर्थ्यो । अझ फिल्म हल बाहिर ब्ल्याकमा पनि टिकट काट्नुपरेको अनुभवमय राईसँग छ । ‘केटी मान्छेलाई भीड भएको बेला टिकट काट्न धेरै मुस्किल हुन्थ्यो, उनी भन्छिन् ‘फिल्म हेर्न साथमा दाइभाइ ल्याउनैपर्ने दिनहरू पनि थिए ।’

तर अहिले अन्तर्राष्ट्रियस्तरका प्रविधियुक्त फिल्महलहरू विराटनगरमा भित्रिएका छन् । केही सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनमा आउने तयारीमा समेत छन् । विराटनगरमा नै पहिलो मल्टिप्लेक्स हल सुरु गरेको सिटी सिनेमा विराटनगरका प्रबन्ध निर्देशक शंकर मेहता विराटनगरवासीहरूलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न फिल्म हलमा फिल्म हेर्ने सुविधा प्रदान गरिएको बताउँछन् ।

विराटनगरमा सिटी सिनेमा सञ्चालनमा आउनुअघि उच्च गुणस्तर र आधुनिक प्रविधियुक्त सिनेमा हलमा फिल्म हेर्न देशकै राजधानी वा भारतको सिलगुरीतिर जानुपर्ने बाध्यता थियो । तर २०१७ बाट सञ्चालनमा ल्याइएको फिल्म हलमा दर्शकका लागि गुणस्तरीय सिट, जेबियल ७.१ सराउण्ड साउण्ड सिस्टम र टु के प्रोजेक्सनसहितको थ्री डि स्क्रिन प्रयोगमा ल्याइएपछि भारतबाट पनि दर्शकहरू विराटनगर आउने गरेको मेहता बताउँछन् ।

विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा ल्याइएको अर्काे अत्याधुनिक फिल्म हल हो, सेन्ट्रल मल्टिप्लेक्स । गुणस्तरीय प्रविधि र उत्कृष्ट व्यवस्थापनसहित मल्टिप्लेक्स सञ्चालनमा ल्याइएको प्रबन्धक निर्देशक रमेश झा बताउँछन् । दर्शक बस्ने सिटको सङ्ख्या धेरै, जेबियल ७.१ साउण्ड सिस्टम र फोर के प्रोजेक्सनसहितको थ्रीडी स्क्रिन आफ्नो हलमा प्रयोग गरिएको उनले बताए ।

प्रविधिको उच्च प्रयोग गर्दै दर्शकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिन विराटनगरका मल्टिप्लेक्स हलहरूले कुनै कसुर बाँकी नराखेको सञ्चालकहरू बताउँछन् । हेर्न चाहेको फिल्मका लागि हलमा मन लागेको सिट रोजेर मोबाईलबाट नै टिकट बुकिङ्ग गर्ने व्यवस्था गरिएकाले फिल्म पारखीलाई सहज भएको सिटी सिनेमाका प्रबन्धक मेहता बताउँछन् ।

ई–सेवा, खल्ति र आईएमईपे जस्ता अनलाइन पेमेन्ट पार्टनरहरूसँग सहकार्य गरेकाले घरबाट नै बुक गरेका टिकटहरूको रकम तिर्न सक्ने भएकाले फिल्म हलमा टिकटकै लागि भीड नहुने उनले बताए ।

फिल्म हेर्न बाहेक मानिसहरुलाई अन्य माध्यमबाट पनि मनोरञ्जन गराउने गरी सेन्ट्रल मल्टिप्लेक्सलाई सञ्चालनमा ल्याइएको प्रबन्धक झा बताउँछन् । ‘पुराना हलहरू फिल्म हेरेर फर्कनुपर्ने बाध्यता थियो । तर यहाँ अलि फरक हुनेगरी व्यवस्था गरिएको छ’, उनी भन्छन्, ‘मल्टीप्लेक्समा घुम्ने सपिङ्ग गर्ने र खेल खेल्नका लागि छुट्टै व्यवस्था छ ।’

कलाकार र फिल्मको नामले गर्दा हलसम्म आउने दर्शकको संख्या निर्धारण हुने हल सञ्चालकहरू बताउँछन् । नाम चलेको कलाकारको चलचित्र रिलिज हुँदा विराटनगरका तीन वटै हल हाउसफूल हुन्छन् । तर कुनै अवस्थामा भने नामी कलाकारहरूको फिल्ममा पनि दर्शक आउँदैनन् । तर टिकट काटेर दर्शक आईसकेपछि दुई जना भएपनि फिल्म देखाउने गरेको हल सञ्चालकहरू बताउँछन् ।

विराटनगरमा भारतबाट पनि फिल्म हेर्न दर्शक आउने गर्छन् ।

थपिँदै मल्टिप्लेक्स

विराटनगरमा व्यवसायीक मलहरू बन्ने क्रममा छन् । नयाँ थपिने क्रममा रहेका मलहरूले पनि मल्टिप्लेक्स सञ्चालनको तयारी गरिरहेका छन् । मलहरूमा मल्टिप्लेक्स थपिए प्रतिस्पर्धा अझै बढ्ने सेन्ट्रल मल्टिप्लेक्सका प्रबन्धक झा बताउँछन् । प्रतिस्पर्धासँगै गुणस्तरमा पनि वृद्धि हुने भएकाले फिल्म पारखीहरूलाई फाइदा पुग्ने उनको भनाइ छ ।

Loading...