विराटनगर, २ फागुन । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारीको गोलमा गोकुलम केरेलाले भारतीय हिरो महिला लिगको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा क्रिप्सा एफसीलाई ३–२ गोलले हराउँदै गोकुलमले उपाधि जितेको हो ।

बैंगलोर फुटबल स्टेडियममा भएको फाइनल खेलमा गोकुलमलाई जिताउन सावित्राले निर्णायक गोल गरिन् ।
२–२ गोलको बराबरीमा रहेको खेलमा गोल गर्दै सावित्राले टोलीलाई उपाधि दिलाएकी हुन् ।
त्यसबाहेक गोकुलमका लागि प्रमेश्वरीदेवी र युम्नाम कमलादेवीले एक–एक गोल गरिन् ।
क्रिप्साका लागि दाङमेयी ग्रेस र रतनबालादेवीले समान एक–एक गोल गरिन् ।
खेलको सुरुआतमा नै सावित्राको असिस्टमा प्रमेश्वरीदेवीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाइन् ।
यस्तै खेलको २४औं मिनेटमा कमलादेवीले गोल गरेपछि गोकुलमले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
यस्तै खेलको ३३औं मिनेटमा क्रिप्साकी ग्रेसले गोल गर्दै खेल २–१ गोलको अवस्थामा ल्याइन् ।
यसैगरी खेलको ७२औं मिनेटमा रतनबालाले गोल गर्दै क्रिप्सालाई बराबरीमा ल्याइन् ।
तर, खेलको ८९औं मिनेटमा सावित्राले गोल गर्दै गोकुलमलाई ३–२ गोलको जित दिलाइन् ।

यससँगै सावित्रा यस सिजनको सर्वाधिक गोलकर्ता बनिन् । उनले १६ गोल गरेकी छन् ।
यससँगै गोकुलमले ऐतिहासिक उपाधि जितेको छ ।
यसअघि गोकुलमले सेमिफाइनलमा साविकको विजेता टोली सेथु क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाली टिमका मिडफिल्डर अनिता बस्नेत सम्मेलित टोली सेथुविरुद्ध गोकुलमले ३–० गोलको जित निकालेको थियो ।
यता, क्रिप्साले केन्क्री एफसीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।