एजेन्सी, २ फागुन । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लबका पछिल्ला ८ खेलमा लगातार गोल गरेका छन् ।
बिहीबार राति एसी मिलानविरुद्ध १–१ गोलको बराबरी खेल्दा एक गोल गरेका रोनाल्डोले २०२० मा युभेन्टसका लागि ८ खेलमा लगातार गोल गरेका हुन् ।

यता, सिरी ‘ए’मा भने रोनाल्डोले लगातार १० गोलमा लगातार गोल गरेका छन् ।
कोपा इटालियाअन्तर्गत सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टस एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
सेमिफाइनलको पहिलो लेगमा युभेन्टसलाई हारबाट बचाउन रोनाल्डोले गोल गरेका थिए ।
मिलानको मैदानमा भएको खेलको अन्तिम समयमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।
१–० गोलले पछि परेको अवस्थामा युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । जसमा, रोनाल्डोले गोल गरे ।
यस गोलसँगै रोनाल्डोले यस वर्ष लगातार ८ खेलमा १२ गोल गरेका छन् ।
३५ वर्षीय रोनाल्डोले यो सिजन क्लब र देशका लागि ३५ खेल खेल्दा ३५ नै गोल गरेका छन् ।
उनले देशका लागि ११ गोल गरेका छन् भने युभेन्टसका लागि २४ गोल गरेका छन् ।
उनले युरोकप छनौटमा ११ गोल गर्दा सिरी ‘ए’ मा २०, च्याम्पियन्स लिगमा २ र कोपा इटालियामा २ गोल गरेका छन् ।