एजेन्सी, २ फागुन । चीनको हुपई प्रान्तमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १ हजार ४ सय ८५ को मृत्यु भएको छ ।
हुबेईमा बिहीबार मात्र १ सय १६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
विश्वभर झन्डै ६५ हजारमा संक्रमण भएको छ । संक्रमणबाट एक जना हङकङ, एक जना फिलिपिन्स र एक जना जापानमा तथा बाँकी सबै चीनमा मृत्यु भएको हो ।
हुबेईमा मात्र ३६ हजार ७ सय १९ को उपचार भइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । त्यसमध्ये १ हजार ६ सय ८५ को अवस्था गम्भीर छ ।
अहिलेसम्म ४ हजार १ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाहेक अन्य २७ देशका ५ सय ८५ स्थानमा यो भाइरस संक्रमण पुष्टि भएको छ ।
यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ ।
उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।
उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ ।
जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।